विराटनगर। नेपाली युवा उद्यमी मञ्च विराटनगर च्याप्टरले आज विराटनगरका तीन शैक्षिक संस्थासँग उद्यमशीलता प्रवर्द्धनका लागि सहकार्य सम्झौता गरेको छ।
मञ्चले विराटनगर इन्टरनेसनल कलेज, मेरिल्याण्ड कलेज र आइएसएमटी कलेजसँग सम्झौता गर्दै विद्यार्थीहरूलाई उद्यमशीलता क्षेत्रमा प्रोत्साहित गर्ने तथा उद्यमशीलतासँग सम्बन्धित विभिन्न कार्यक्रम सञ्चालन गर्ने सहमति गरेको हो। सम्झौताअनुसार तीनवटै कलेजका विद्यार्थीलाई वर्षभरि उद्यमशीलता विकास, नेतृत्व, नवप्रवर्तन, व्यवसायिक सीप अभिवृद्धि तथा नेटवर्किङसँग सम्बन्धित विविध कार्यक्रम, तालिम, अन्तरक्रिया र कार्यशालामा सहभागी गराइनेछ। यस सहकार्यले विद्यार्थीहरूलाई उद्यमशील सोचको विकास गर्न तथा व्यवसायिक अवसरहरू पहिचान गर्न सहयोग पुग्ने विश्वास मञ्चले व्यक्त गरेको छ।


सम्झौता कार्यक्रममा नेपाली युवा उद्यमी मञ्च विराटनगर च्याप्टरका अध्यक्ष रोमन कट्टेलसहित अनुभव दाहाल, श्लोक रिजाल, आर्नेस्ट श्रेष्ठ, विवेक दाहाल, संजीव सिग्देल,रोजन थापा, रितेश खनाल, हेमन्त अग्रवाल, अभिषेक अग्रवाललगायत मञ्चका पदाधिकारी तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। मञ्चले आगामी दिनमा शैक्षिक संस्था र निजी क्षेत्रबीच सहकार्यलाई अझ सुदृढ बनाउँदै युवालाई उद्यमशीलता र स्वरोजगारतर्फ आकर्षित गर्ने उद्देश्यका साथ यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।