विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) शेखर खनालले प्रदेशअन्तर्गतका जिल्ला प्रहरी कार्यालय प्रमुख तथा ‘क’ स्तरसम्मका प्रहरी इकाई प्रमुखहरूलाई भर्चुअल माध्यमबाट निर्देशन दिएका छन्।
साउन २० गते आयोजित भर्चुअल निर्देशन कार्यक्रममा डीआईजी खनालले प्रहरी कर्मचारीलाई आफ्नो पदीय जिम्मेवारी त्रुटिरहित ढंगले पूरा गर्न, व्यावसायिक रूपमा चुनौतीको सामना गर्न तथा निर्भीक, इमानदार र राष्ट्रप्रति बफादार सेवकका रूपमा कार्य गर्न निर्देशन दिए। उनले नागरिकको अपेक्षाअनुसार छिटो, शिष्ट, सभ्य र पीडितमैत्री वातावरणमा प्रहरी सेवा प्रवाह गर्न, दैनिक कामकारबाहीलाई चुस्त र प्रभावकारी बनाउन तथा जिम्मेवारी क्षेत्रहरूमा नियमित प्रहरी परिचालन गरी शान्ति सुरक्षा कायम राख्न जोड दिए।
डीआईजी खनालले आर्थिक प्रलोभनबाट टाढा रही शून्य सहनशीलताको नीति अपनाउन, सीमावर्ती नाकामा कडा चेकजाँच गर्न, सवारी दुर्घटना न्यूनीकरण, प्रविधिमैत्री ट्राफिक व्यवस्थापन, प्रभावकारी अनुसन्धान, लागूऔषध प्रयोग तथा ओसारपसार नियन्त्रण, गाँजा खेती फडानी र अन्य आपराधिक गतिविधि नियन्त्रणका लागि योजनाबद्ध रूपमा प्रहरी परिचालन गर्न निर्देशन दिए।

त्यसैगरी, मनसुनजन्य विपद्का घटनालाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समिति, जिल्ला विपद् व्यवस्थापन समिति तथा सम्बन्धित निकायसँग समन्वय गरी खोज, उद्धार र राहत कार्यलाई प्रभावकारी बनाउन तथा आवश्यक उद्धार सामग्रीसहित तयारी अवस्थामा रहन पनि उनले निर्देशन दिए।
मातहतका प्रहरी कर्मचारीलाई अनुशासित, उत्प्रेरित र नागरिक सेवाप्रति जिम्मेवार बनाउन समयसापेक्ष तालिम, सामूहिक अभ्यास तथा नियमित ब्रिफिङ सञ्चालन गर्नुपर्नेमा पनि उनले जोड दिए। साथै कार्यसम्पादन सम्झौता तथा कार्यसम्पादन अभिलेख (अटोमेसन) को लक्ष्य हासिल हुने गरी प्रहरी कार्यलाई दैनिक रूपमा व्यवस्थित र प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिएका छन्।
कार्यक्रममा कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठ, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक योगेन्द्र सिंह थापा लगायत वरिष्ठ तथा कनिष्ठ प्रहरी अधिकृत एवं प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो।