विराटनगर । मोरङको सुनवर्षी नगरपालिकामा ४ वर्षीया बालिकाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सुनवर्षी नगरपालिका–९ डाइनिया मुस्लिम टोलका ५९ वर्षीय जान मोहम्मद मन्सुरीलाई हत्या आरोपमा पक्राउ गरिएको हो।
गत साउन ८ गते स्थानीय जफारुल मियाँकी ४ वर्षीया छोरी कायनात खातुन घर नजिकैको घाँसे क्षेत्र (घन्सी बारी) भित्र मृत अवस्थामा फेला परेकी थिइन्। घटनापछि प्रहरीले अनुसन्धान तथा सूक्ष्म खोजतलास अघि बढाएको थियो। अनुसन्धानका क्रममा घटनामा मन्सुरीको संलग्नता देखिएपछि उनलाई साउन २० गते उनकै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
प्रहरी नायव उपरीक्षक तथा जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी मकेन्द्रकुमार मिश्रका अनुसार बालिका साथीहरूसँग खेल्ने क्रममा मन्सुरीको बारीमा अम्बा टिप्न गएकी थिइन्। प्रारम्भिक अनुसन्धानले यसअघि पनि स्थानीय बालबालिका उक्त बारीमा अम्बा टिप्न जाने गरेको देखाएको छ।
प्रहरीका अनुसार त्यसक्रममा मन्सुरीले इट्टाले प्रहार गर्दा बालिका ढलेकी थिइन्। त्यसपछि उनले बालिकालाई काखमा बोकेर नजिकैको घन्सी बारीमा लगेर फालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी मिश्रले जानकारी दिए। पक्राउ परेका मन्सुरीविरुद्ध कर्तव्य ज्यान मुद्दामा मोरङ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।