विराटनगर । कोशी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालयले आयोजना गरेको फोटो प्रतियोगिताका विजेता फोटोग्राफरहरूलाई विशेष समारोहबीच नगद पुरस्कार, मेडल र प्रमाणपत्रसहित सम्मान गरिएको छ।
मन्त्रालयका अनुसार प्रदेशका प्रमुख पर्यटकीय पदमार्गहरू लालिगुराँस ट्रेल, मुन्धुम ट्रेल, फाल्गुनन्द ट्रेल र चिया बगान ट्रेलको प्राकृतिक सौन्दर्य, संस्कृति तथा पर्यटन सम्भावना झल्काउने उत्कृष्ट तस्बिरहरू प्रतियोगितामा समावेश गरिएको थियो।
पर्यटन, वन तथा वातावरण मन्त्री भिम पराजुली तथा मन्त्रालयका सचिव डा.ईन्द्र प्रसाद सापकोटाले विभिन्न पदमार्गसँग सम्बन्धित उत्कृष्ट तस्बिर खिच्ने ९ जना फोटोग्राफरलाई मेडल, प्रमाणपत्र र नगद पुरस्कार प्रदान गरे।
प्रतियोगितामा ७० हजार रुपैयाँ राशिको प्रथम पुरस्कार प्रतित चाम्लिङ राई, रोशन राई, गिरिराज बाँस्कोटा र प्रज्वल खवासले संयुक्त रूपमा प्राप्त गरेका छन्। त्यसैगरी ४० हजार रुपैयाँ राशिको द्वितीय पुरस्कार सुन्दर मैनाली, सादिश श्रेष्ठ र बर्धन कोयु राईलाई प्रदान गरिएको छ भने २० हजार रुपैयाँ राशिको तृतीय पुरस्कार फुङसो हाङ जबेगुले प्राप्त गरेका छन्।
मन्त्रालयले यस्ता प्रतियोगिताले कोशी प्रदेशका पर्यटकीय गन्तव्यहरूको प्रचार–प्रसार, पर्यटन प्रवर्द्धन तथा फोटोग्राफी क्षेत्रका प्रतिभालाई प्रोत्साहन पुग्ने विश्वास व्यक्त गरेको छ।