सोनु साह
विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले राष्ट्रिय परिचयपत्र बनाउन आउने सेवाग्राहीको बढ्दो भीड व्यवस्थापन गर्दै छिटो, सहज र प्रभावकारी सेवा प्रवाह गर्न दुई चरणमा सेवा सञ्चालन गरेको छ। पछिल्लो समय राष्ट्रिय परिचयपत्र बनाउन दैनिक रूपमा सेवाग्राहीको चाप उल्लेख्य रूपमा बढेपछि कार्यालयले सेवा प्रवाहको समय विभाजन गरी दुई चरणमा काम सुरु गरेको हो।

जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाका अनुसार हाल सरकारले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गा वितरण, तथ्यांक संकलन लगायतका कार्यमा राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि सेवाग्राहीको संख्या एक्कासि बढेको छ।
उनले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, बैंकिङ प्रयोजन तथा अन्य सरकारी सेवाका लागि पनि राष्ट्रिय परिचयपत्र अनिवार्य बन्दै गएकाले कार्यालयमा दैनिक भीड बढिरहेको बताए। बढ्दो चापलाई व्यवस्थापन गर्न कार्यालयले बिहान ७ बजेदेखि १० बजेसम्म पहिलो चरण र बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म दोस्रो चरणमा सेवा सञ्चालन गरिरहेको कोइरालाले जानकारी दिए।
जिल्ला प्रशासन कार्यालयले यस व्यवस्थाबाट सेवाग्राहीको लामो लाइन घट्ने, प्रतीक्षा समय कम हुने तथा सेवा प्रवाह अझ प्रभावकारी बन्ने अपेक्षा गरेको छ।