विराटनगर । मोरङको विराटनगर महानगरपालिका–१५ बाट लागूऔषध खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन्। लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरूमाथि निगरानी गर्ने क्रममा खैरो हेरोइन बिक्री गरिरहेको अवस्थामा एक जनालाई पक्राउ गरेको हो। ब्युरोका अनुसार पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१५ बस्ने ३१ वर्षीय महमद हुसेन रहेका छन्।
प्रहरीले हुसेनको साथबाट १ सय ग्राम ६ सय मिलिग्राम खैरो हेरोइन र एक थान मोबाइल बरामद गरेको जनाएको छ। पक्राउ परेका हुसेनलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानी, मोरङमा बुझाइएको लागूऔषध नियन्त्रण ब्युरोले जनाएको छ