विराटनगर साउन २४ ,
विराटनगरमा उत्पादन हुँदै आएको प्राकृतिक वेलनेस ब्रान्ड मुनवेक स्किनकेयरले राष्ट्रिय स्तरमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। अमेरिकी दूतावास नेपालको सहयोगमा सञ्चालन गरिएको प्रतिष्ठित ‘क्यापस्टोन एक्सेलेरेटर’ कार्यक्रममा देशभरका उत्कृष्ट २० उद्यमीमध्ये यो ब्रान्ड छनोट हुन सफल भएको हो।
८०० भन्दा बढी आवेदनमध्ये छनोट प्रक्रियाबाट अघि बढ्दै मुनवेक स्किनकेयरले आफ्नो उत्पादनको गुणस्तर, नवप्रवर्तन र बजार सम्भावनाका आधारमा स्थान सुरक्षित गरेको हो। विराटनगरमै उत्पादन हुने यस ब्रान्डले प्राकृतिक स्किनकेयर, हेयरकेयर, सुगन्धित मैनबत्ती तथा कोल्ड–प्रेस्ड तेल बजारमा उपलब्ध गराउँदै आएको छ।
ब्रान्डकी संस्थापक आकृति जालानका अनुसार मुनवेकले स्थानीय उत्पादनलाई राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने लक्ष्य लिएको छ। हाल कम्पनीले बहु–च्यानल वितरणमार्फत ग्राहक विस्तार गरिरहेको छ भने आगामी दिनमा उत्पादन विविधीकरण र रणनीतिक साझेदारीमा केन्द्रित हुने योजना बनाएको छ।
विराटनगरबाट सुरु भएको मुनवेक स्किनकेयरले नेपाली प्राकृतिक वेलनेस उत्पादनलाई विश्व बजारमा चिनाउने दिशामा महत्वपूर्ण पाइला अघि बढाएको छ।