विराटनगर । नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् विराटनगरको अध्यक्षमा विष्णु कुमारी तामाङ निर्वाचित हुनुभएको छ । विश्व आदिवासी दिवसको अवसरमा आइतबार विराटनगर–११ स्थित संगम पार्टी प्यालेसमा सम्पन्न नगर समितिको भेलाले तामाङलाई अध्यक्षमा निर्वाचित गरेको हो।

अध्यक्ष पदका लागि नेवार समुदायका सुनिल श्रेष्ठ र तामाङ घेदुङबाट विष्णुकुमारी तामाङबीच प्रतिस्पर्धा भएको थियो। निर्वाचनमा श्रेष्ठलाई भारी मतान्तरले पछि पार्दै तामाङ अध्यक्षमा निर्वाचित हुनुभएको हो । नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा तमु ह्यूल छोंज धीका श्याम गुरुङ र नेपाल धानुक समाजका संजयकुमार मण्डल चयन हुनुभएको छ। महिला उपाध्यक्षमा किराँत राई यायोक्खाबाट विष्णु राई सर्वसम्मत चयन हुनुभएको छ।

त्यसैगरी सचिवमा भुजेल सेवा समिति समाजका पूर्ण भुजेल, सहसचिवमा राजवंशी समाज विकास समितिका मुलुक चन्द राजवंशी र नेपाल मगर संघका भद्रबहादुर समाल मगर, किराँत याक्खा छुम्माबाट महिला सह सचिवमा विनादेवी जिमीलाई सर्वसम्मतले चयन गरिएको छ । चयन हुनुभएको छ। कोषाध्यक्षमा किराँत याक्थुङ चुम्लुङबाट टीकाप्रसाद लिम्बु सर्वसम्मत चयन हुनुभएको छ ।

विराटनगरमा रहेका विभिन्न १८ वटा जातीय संस्थाबाट पदेन सदस्य रहने गरी नगर परिषद्समेत गठन गरिएको छ । नवनिर्वाचित अध्यक्ष विष्णु तामाङले विराटनगरमा बसोबास गर्ने विभिन्न जातीय संस्थालाई एकताबद्ध गर्दै आदिवासी जनजातिको हकहित, अधिकार, भाषा, संस्कृति र पहिचानको संरक्षणका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभयो, “तपाईंहरूले मप्रति जुन विश्वास र जिम्मेवारी सुम्पिनुभएको छ, त्यसलाई शिरोधार्य गर्दै आगामी दिनमा आदिवासी जनजातिहरूको हक–हित, अधिकार, भाषा, संस्कृति र पहिचानको रक्षाका लागि म र मेरो सम्पूर्ण टिम पूर्ण निष्ठाका साथ कटिबद्ध भएर लाग्नेछौँ।”

निर्वाचन सफल बनाउन सहयोग गर्ने सम्पूर्ण प्रतिनिधि, शुभचिन्तक, साथी तथा मित्रहरूप्रति उहाँले धन्यवादसमेत व्यक्त गर्नुभएको छ। आगामी दिनमा पनि सबैको साथ, सहयोग र मार्गदर्शनको अपेक्षा रहेको उहाँको भनाइ छ। नवनिर्वाचित अध्यक्ष तामाङले विराटनगरका विभिन्न जातीय समुदायबीचको एकता, सहकार्य र समन्वयलाई थप मजबुत बनाउँदै आदिवासी जनजातिका साझा मुद्दालाई संस्थागत रूपमा अघि बढाउने बताउनुभएको छ ।
