शिक्षादीप कलेजको कविता प्रतियोगितामा अर्पिता न्यौपाने प्रथम

<span class='c1'>शिक्षादीप कलेजको कविता प्रतियोगितामा</span> <span class='c2'>अर्पिता न्यौपाने प्रथम</span>

विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजमा आयोजित कविता प्रतियोगितामा अर्पिता न्यौपाने प्रथम भएकी छन्। ‘कृत्रिम बुद्धिमत्ता, डिजिटल युग, सामाजिक सञ्जाल तथा विज्ञान र प्रविधि’ विषयमा आयोजित प्रतियोगितामा उत्कृष्ट प्रस्तुति दिँदै न्यौपानेले प्रथम स्थान हासिल गरेकी हुन्।

प्रतियोगितामा रिजु अधिकारी र विभूति विष्ट द्वितीय तथा प्रिया दर्नाल र सन्ध्या धमला तृतीय भएका छन्। केशव झा, खान्सा तनविर र सहिष्णुता बरालले सान्त्वना पुरस्कार प्राप्त गरेका छन्। विद्यार्थीमा सिर्जनात्मक क्षमता विकास गर्नुका साथै साहित्यप्रति रुचि बढाउने र समसामयिक प्रविधिका विषयमा आफ्ना विचार स्वतन्त्र रूपमा अभिव्यक्त गर्न सक्षम बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको कलेजका प्राचार्य ज्ञानबहादुर खड्काले बताए।

प्रतियोगितामा सहभागी विद्यार्थीहरूले कृत्रिम बुद्धिमत्ताको बढ्दो प्रयोग, डिजिटल प्रविधिको विस्तार, सामाजिक सञ्जालको प्रभाव तथा विज्ञान र प्रविधिले मानव जीवन र समाजमा ल्याइरहेको परिवर्तनलाई कवितामार्फत प्रस्तुत गरेका थिए। प्रविधिको तीव्र विकासले सिर्जना गरेका अवसरसँगै त्यसका चुनौती, मानवीय सम्बन्धमा परेको प्रभाव र बदलिँदो जीवनशैलीका विषयलाई समेत विद्यार्थीहरूले सिर्जनात्मक रूपमा उठाएका थिए।

प्रतियोगिताको निर्णायक मण्डलमा साहित्यकार चूडामणि नेपाल ‘अकिञ्चन’, कवि एवं पत्रकार मीनकुमार नवोदित र विमल किशोर श्रीवास्तव रहेका थिए। विषयवस्तु, प्रस्तुति, भाव, विचार, भाषाशैली, बिम्ब तथा प्रतीकलगायतका आधारमा उत्कृष्ट कविताको छनोट गरिएको निर्णायक समितिका सदस्य नवोदितले जानकारी दिए।

कलेजका निर्देशक डा. रामचन्द्र अधिकारीको सञ्चालनमा भएको कार्यक्रममा निर्देशक भूपेन्द्र दाहाल ‘भूपी’, विज्ञान संकायका संयोजक नवीनकुमार राय, निर्देशकहरू ललितनारायण मण्डर, अनिलकुमार दास, शेषनारायण चौधरी, नारायण रेग्मीलगायतको उपस्थिति थियो।

प्रतियोगितामा ४८ जना विद्यार्थीले कविता प्रस्तुत गरेका थिए। पहिलो चरणमा सहभागी ९२ जना विद्यार्थीमध्येबाट दोस्रो चरणका लागि ४८ जना छनोट गरिएको निर्देशक अधिकारीले जानकारी दिए। शिक्षादीप कलेजले नियमित पठनपाठनसँगै अतिरिक्त क्रियाकलापलाई समेत उच्च प्राथमिकतामा राख्दै आएको प्राचार्य खड्काले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्