विराटनगर। विराटनगरका अभिषेक गिरी हाजिरी जमानीमा छुटेका छन् । ४४ दिनपछि उनी सोमबार छुटेका हुन् । उनी छुटे पनि सम्पति सुद्दिकरणमा भने अनुसन्धान जारी रहने प्रहरीले बताएको छ । कैदीबन्दीको भत्ता दुरुपयोग आरोपमा असार १३ गते पक्राउ परेका उनीविरुद्ध मोरङ र काठमाडौंमा ठगीका थप दुई मुद्दा परेको थियो । ठगीका दुईवटै मुद्दामा मिलापत्र गरेर सोमबार साँझ छुटेका हुन् । सरकारी वकिलको कार्यालयमा दुई पक्षबीचको मिलापत्रपछि गिरीलाई हाजिरी जमानीमा छाडिएको छ । उनलाई बाहिरै राखेर सरकारी वकिलको कार्यालयले अभियोजनको प्रक्रिया अघि बढाउनेछ ।
जालझेल गरी पेट्रोल पम्प हडपेको आरोपमा दिलिप चौधरीले गिरीविरुद्ध जाहेरी दिएका थिए । उजुरीका आधारमा बिहीबार काठमाडौंमा पक्राउ गरी प्रहरीले विराटनगर ल्याएको थियो । त्यसपछि प्रहरीले उनलाई आपराधिक विश्वासघात तथा ठगीसम्बन्धी कसुरमा चार दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको थियो । सोमबार म्याद थप गर्ने तयारी थियो, तर मिलापत्र गरेपछि म्याद थप भएन ।
मोरङ कारागारका कैदीबन्दीले लत्ताकपडाबापत पाएको सरकारी भत्ता गिरीले जबरजस्ती लगेको भन्दै प्रहरीले १३ असारमा विराटनगर महानगरपालिका–८ स्थित घरबाटै पक्राउ गरेको थियो । अनुसन्धान जारी रहेका बेला मोरङ अदालतको आदेशबाट हाजिरजमानीमा छुटेका उनलाई २३ असारमा सीआईबीले पक्राउ गरेर काठमाडौं पुर्याएको
निर्माण व्यवसायी सुभाष श्रेष्ठले आफूलाई ठगी गरेको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीमा जाहेरी दिएको थिए । सीआईबीको अनुसन्धान प्रतिवेदनका आधारमा २१ करोड ३२ लाख ७६ हजार ५ रुपैयाँ बराबरको ठगी गरेको दाबीसहित काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।
जिल्ला अदालतले ५ लाख धरौटीमा छाड्ने आदेश दिएपछि गिरी बिहीबार श्रेष्ठसँग मिलापत्र गरी छुटेका थिए । लगतै पक्राउ गरी मोरङ ल्याइएका उनले चौधरी सँग पनि मिलापत्र गरेका हुन् । मोरङ प्रहरीले उनी विरुद्ध सम्पति सुद्दिकरण मुद्दामा अनुसन्धान भने जारी राखेको जानकारी दिएको छ ।