पिडीओ लिएर विराटनगरका उद्योगीले आयात गरेनन् ग्यास, अभाव सिर्जना गरेको आरोपमा कारवाही

<span class='c1'>पिडीओ लिएर विराटनगरका उद्योगीले आयात गरेनन्</span> <span class='c2'>ग्यास, अभाव सिर्जना गरेको आरोपमा कारवाही</span>

विराटनगर । सुनसरी मोरङ औद्योगिक करिडोर अन्तर्गत बुढीगंगा गाउँपालिका–५ स्थित रिजालको भान्सा ग्यास उद्योग प्रा.लि.लाई ग्यास आयातमा अटेर गरेको आरोपमा कारवाही प्रक्रिया थालिएको छ । नेपाल आयल निगम प्रादेशिक कार्यालय कोशीबाट साउन १६ गतेदेखि साउन २७ गतेसम्म १३ बुलेट ग्यासको प्रोडक्ट डेलिभरी अर्डर लिएको उद्योगले ग्यास आयात नगरेपछि कारवाही प्रक्रिया थालिएको हो । अभाव सिर्जना गरेर उपभोक्तालाई मारमा पारेको भन्दै नेपाल आयल निगम प्रादेशिक कार्यालय कोशीले केन्द्रीय कार्यालयमा जानकारी गराएको हो । कार्यालयका प्रमुख पुष्कर कार्कीले बजारमा ग्यासको माग बढिरहेको बेला अत्यावश्यक सेवा अन्तर्गत पर्ने उद्योगका सञ्चालकले अटेर गरिरहेको बताउनुभयो ।

यो उद्योगमा वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, जिल्ला प्रशासन कार्यालय, गुणस्तर तथा नापतौल कार्यालय र जिल्ला प्रहरी कार्यालयको टोलिले साउन २७ गते अनुगमन गरेको थियो । अनुगमनका क्रममा उद्योगमा ग्यास बुलेट नभएकोले सञ्चालनमा नरहेको पाइएको थियो । अनुगमन टोलिले उद्योग परिसरमा रहेका सिलिन्डरमा समेत कम ग्यास पाइएपछि २ लाख ९५ हजार रुपिँया जरिवाना गरिएको छ ।

यसपछि नेपाल आयल निगम विराटनगर कार्यालयले जारी गरेको पिडीओको विषयमा जानकारी लिएको हो । त्यस क्रममा ग्यास आयात नगरेको पाइएको थियो । आयल निगमबाट १३ वटा बुलेटको पिडीओ लिएको उद्योगले १६ हजार ४८० सिलिन्डर ग्यास बजार पठाउन सक्ने थियो । अहिले रिजालको भान्सा ग्यास उद्योगको सिलिन्डर प्रयोग गर्ने उपभोक्तालाई बजारमा समस्या परिरहेको पाइएको छ ।
उद्योगका सञ्चालक तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नविन रिजालले भने सरकारले पहल लिन नसक्ने ग्यास अभाव भएपछि उद्योगलाई कारवाही गर्ने कुरा जायज नभएको बताउनुभयो । उहाँले अहिले ग्यास आयातका लागि नेपाल आयल निगमले भारतसँग सहजीकरण गर्न नसक्दा समस्या भइरहेको आरोप लगाउनुभयो । भनेजति ग्यास भारतले दिनेभए नाफा आर्जन गर्ने उद्योगीले ल्याउँदै भरेर बजार पठाउँथ्यौं तर दिएको छैन, रिजालले भन्नुभयो । उहाँले उद्योगीलाई दवाव दिएर नभई सरकारीस्तरमा भारतसँग पहल गरेर ग्यास आपूर्ति सहज हुने बताउनुभयो ।

नेपाल आयाल निगमको विराटनगर कार्यालयबाट साउन २८ गतेसम्म लिइएको पिडीओबाट ७ हजार ११० दशमलव ०६६ मेट्रिक टन ग्यास आयत भइसकेको छ । साउनभर ५ लाख ७०९ वटा सिलिन्डर यहाँका पाँच उद्योगबाट बजारमा पठाइएको छ । गत आर्थिक वर्षको साउनमा ६ हजार ६८३ दशमलव २०९ मेट्रिकटन ग्यास आयात भएको थियो । जसबाट ४ लाख २२६ वटा सिलिन्डर बजारमा पठाइएको थियो ।

नेपाल आयल निगमको तथ्यांकमा असारमा समेत ग्यास गतवर्ष भन्दा बढी आयात भएको देखिन्छ । गतवर्ष (२०८२ असार) ५ हजार ८५३ दशमलव ६२९ मेट्रिकटन ग्यास आयात भएको थियो । जसबाट ४ लाख १२ हजार २२७ सिलिन्डर ग्यास बजारमा गएको थियो । २०८३ असारमा भने ६ हजार ५७ दशमलव ५४८ मेट्रिकटन ग्यास आयात भएर ४ लाख २६ हजार ५८८ थान सिलिन्डर बजारमा गएको थियो । २०८२ सालको असार भन्दा २०८३ सालको असारमा ३.५ प्रतिशत र २०८२ साउन भन्दा २०८३ साउनमा २५.१ प्रतिशत बढी ग्यास आयात भएको देखिन्छ ।

नेपाल आयाल निगम विराटनगरबाट पिडीओ लिएर ग्यास आयात गर्ने कम्पनीले मोरङ, सुनसरी, धनकुटा, संखुवासभा, भोजपुर उदयपुर, सप्तरी, सिराहासम्मको बजार ओगट्ने गर्दछन् । गतवर्ष यिनै जिल्लाका लागि आयात भएको भन्दा धेरै ग्यास यो वर्षको साउनमा आयात भएको प्रमुख कार्की बताउनुहुन्छ ।

आयातमा बढ्यो दुरी
ग्यास आयातमा भारतसँग निर्भर हुनुपर्छ । भारतको बरौनी विराटनगरका लागि सबैभन्दा छोरी दुरीमा ४०० किलोमिटरमा पर्दछ । तर, यहाँका उद्योगीका लागि बरौनीबाट सिमित मात्रै ग्यास उपलब्ध हुने गरेको छ । बरौनी डिपोबाट हुने आयात भने काठमाण्डौं केन्द्रीत रहेको छ । सुनसरी–मोरङ करिडोरका उद्योगीका लागि आयल निगमले दुर्गापुरबाट पिडीओ जारी गर्दै आएको थियो । दुर्गापुर ८०० किलोमिटरमा पर्दछ । त्यसपछि अर्को डिपो हल्दिया समेत ८०० किलोमिटर नै पर्ने गरेको छ । तर, गत महिना दुर्गापुरबाट हल्दिया लगिएको ग्यासको पाइपमा आगलागी भएपछि अहिले यहाँका उद्योगीले पारादिपबाट ग्यास आयात गर्नुपर्ने गरि पिडीओ जारी हुने गरेको प्रमुख कार्कीले जानकारी दिनुभयो । जसको दुरी एक हजार २०० किलोमिटर रहेको छ ।

ग्यास अनलोड गरेर पारादिप पुग्न चार दिन लाग्छ, त्यहाँ एक दिनको समय लगाएर लोड भएको ग्यास लिएर फर्कन समेत चार दिन नै लाग्ने गरेको छ । तर, पनि अन्य उद्योगले आपूर्ति श्रृंखला व्यवस्थापन गरेर आधा सिलिन्डरबाट पूर्ण सिलिन्डरको माग व्यवस्थापन गरिरहेको निगम प्रमुख कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार शुक्रबार मात्रै पनि ३०३.१५ मेट्रिकटन ग्यास आयात भएको छ । विराटनगरमा ग्यास वितरणको प्रणाली व्यवस्थित भएपनि सुनसरीको धरान, उदयपुर, सिराहा, सप्तरी, धनकुटा, संखुवासभा र भोजपुरमा अहिले पनि अभाव देखिरहेको निगम प्रमुख कार्की बताउनुहुन्छ । तर, ग्यास आयातमा कुनै असन्तुलन नभएकोले भण्डारण गरेर नराखिदिन कार्कीले आग्रह गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्