सोनु साह,
विराटनगर । डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) नेपालको १२ औँ केन्द्रीय महाधिवेशन आगामी भदौ १९ र २० गते बुटवलमा हुने भएको छ। महाधिवेशनलाई लक्षित गर्दै विराटनगरका वरिष्ठ अधिवक्ता भरतबहादुर थापाले केन्द्रीय अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन्। आइतबार मोरङ बार एसोसिएशनको सभाहलमा आयोजित डिएलए नेपाल कोशी प्रदेशस्तरीय भेला तथा उम्मेदवारी घोषणा सभामा थापाले अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका हुन् । उपत्यकाबाहिरबाट डिएलएको केन्द्रीय अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्ने उनी पहिलो उम्मेदवार भएको दाबी गरिएको छ। अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्दै थापाले डिएलएमा आबद्ध सम्पूर्ण कानुन व्यवसायीलाई एकताबद्ध गर्दै स्वतन्त्र न्यायपालिका, निष्पक्ष न्याय प्रणाली र सक्षम संगठन निर्माणका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
उनले कानुन व्यवसायीको हकहित संरक्षणसँगै सक्षम नेतृत्व विकास, संगठन सुदृढीकरण र समृद्ध कानुन व्यवसाय निर्माणलाई आफ्नो प्राथमिकतामा राख्ने बताए। डिएलएलाई निष्पक्ष, पारदर्शी र जवाफदेही संस्थाका रूपमा अघि बढाउने उनको प्रतिबद्धता छ।
थापाले आफ्नो उम्मेदवारी व्यक्तिगत पद प्राप्तिका लागि मात्र नभई संगठनलाई थप सुदृढ र प्रभावकारी बनाउने उद्देश्यका साथ अघि बढाएको बताए। निर्वाचनमा आफूलाई सहयोग र समर्थन गरी विजयी गराउन कानुन व्यवसायीलाई आग्रहसमेत गरेका छन्।
को हुन् भरतबहादुर थापा ?
विराटनगरका परिचित कानुन व्यवसायी थापा वि.सं. २०२० सालमा पाँचथरमा जन्मिएका हुन्। पहाडी जिल्लाबाट मोरङको विराटनगर बसाइँ सरेका थापाले प्रारम्भिक शिक्षा सरकारी विद्यालयबाट हाँसिल गरेका थिए। अध्ययनप्रति सानैदेखि रुचि राख्ने थापाले कानुन विषयमा उच्च शिक्षा हासिल गरेपछि वि.सं.२०४५ सालदेखि कानुन व्यवसायमा प्रवेश गरेका हुन्।
करिब ३८ वर्षदेखि कानुन व्यवसायमा सक्रिय थापा अहिले नेपालका वरिष्ठ अधिवक्ताका रूपमा परिचित छन्। लामो कानुनी अनुभव र संगठनात्मक भूमिकाका कारण उनलाई कानुन व्यवसायीहरूले क्षेत्रका अभिभावकका रूपमा समेत लिने गरेका छन्।
थापा वि.सं. २०५७ सालमा मोरङ जिल्ला बार एसोसिएसनको अध्यक्षमा निर्वाचित भएका थिए। त्यसैगरी, वि.सं. २०६१ सालमा नेपाल कानून व्यवसायी परिषद्को पार्षद बनेका उनी नेपाल बार एसोसिएसनको सल्लाहकार तथा डिएलए नेपालको केन्द्रीय सल्लाहकारका रूपमा समेत काम गरिसकेका छन्।
विराटनगरस्थित उनको ल च्याम्बरमा अहिले पनि दर्जनौँ कानुन व्यवसायी कार्यरत छन्। थापाले आर्थिक अवस्था कमजोर भएका, गरिब तथा असहाय व्यक्तिहरूका मुद्दामा निःशुल्क बहस तथा कानुनी सहयोगसमेत गर्दै आएका छन्। कानुनी क्षेत्रसँगै सामाजिक कार्यमा समेत सक्रिय रहेका थापा यसपटक डिएलएको नेतृत्वका लागि चुनावी मैदानमा उत्रिएका हुन्।
किन थापाको उम्मेदवारी
डिएलएको केन्द्रीय नेतृत्वमा लामो समयदेखि काठमाडौं उपत्यकाबाटै उम्मेदवार बन्ने अवस्था रहेको बताउँदै थापाले उक्त परम्परालाई परिवर्तन गर्न उपत्यकाबाहिरबाट अध्यक्ष पदमा उम्मेदवारी दिएको बताएका छन्। विराटनगरबाट अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका थापाले कानुन व्यवसायीको पेशागत हकहित, न्यायपालिकाको स्वतन्त्रता र न्याय प्रणालीको सुदृढीकरणलाई प्राथमिकतामा राखेका छन्। संगठनभित्र एकता कायम गर्दै देशभरका कानुन व्यवसायीलाई एउटै छातामुनि थप संगठित गर्ने उनको लक्ष्य छ।
उनले डिएलएलाई बलियो र प्रभावकारी संगठनका रूपमा विकास गर्न संगठन सुदृढीकरण, नयाँ पुस्ताका कानुन व्यवसायीमा नेतृत्व विकास, पेशागत क्षमता अभिवृद्धि तथा कानुन व्यवसायीको सामाजिक सुरक्षाका विषयलाई प्राथमिकतामा राख्ने बताएका छन्।
अध्यक्षमा थापासहित दुई उम्मेदवार
डिएलए नेपालको केन्द्रीय अध्यक्ष पदका लागि थापासहित काठमाडौंकी अधिवक्ता लक्ष्मी रावल दाहालले पनि उम्मेदवारी घोषणा गरेकी छन्। त्यस्तै, महासचिव पदमा १२ जना प्रतिस्पर्धीले उम्मेदवारी घोषणा गरेका छन्। आइतबार विराटनगरमा आयोजित कोशी प्रदेशस्तरीय भेलामा डिएलए नेपालका केन्द्रीय अध्यक्ष वरिष्ठ अधिवक्ता सीताराम केसीको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा कोशी प्रदेशका विभिन्न जिल्लाबाट आएका कानुन व्यवसायी तथा डिएलएमा आबद्ध सदस्यहरूको सहभागिता थियो।
बुटवलमा हुने डिएलए नेपालको १२औँ केन्द्रीय महाधिवेशनमा देशभरबाट करिब १ हजार ४ सय प्रतिनिधिले मतदान गर्ने बताइएको छ। डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) नेपाली कांग्रेसनिकट कानुन व्यवसायीहरूको शुभेच्छुक संगठनका रूपमा परिचित छ।