विराटनगर । श्री राधाकृष्ण मन्दिर समिति विराटनगर–१ ले प्रयोगमा नरहेको पुरानो रथ तथा रथघरमा रहेका विभिन्न सामग्री सार्वजनिक डाँक बढाबढ ९लिलाम० प्रक्रियामार्फत बिक्री गर्ने भएको छ।
मन्दिर समितिले सार्वजनिक सूचना जारी गर्दै नयाँ रथ निर्माण भई सञ्चालनमा आइसकेकाले पुरानो रथ तथा रथघरमा रहेका पुराना काठ, फलामलगायत प्रयोगमा नरहेका सामग्री लिलाम बिक्री गर्न लागिएको जनाएको हो।

समितिका अनुसार लिलाम प्रक्रिया २०८३ साल भदौ ९ गते दिउँसो २ बजे श्री राधाकृष्ण मन्दिर, विराटनगर–१ मा हुनेछ। इच्छुक व्यक्ति तथा संस्थाले तोकिएको मिति, समय र स्थानमा उपस्थित भई डाँक बढाबढ प्रक्रियामा सहभागी हुन सक्नेछन्। लिलाममा सहभागी हुने व्यक्ति तथा संस्थाले आफ्नो परिचय खुल्ने आधिकारिक कागजात साथमा ल्याउनुपर्ने समितिले जनाएको छ।
विराटनगरको ऐतिहासिक राधाकृष्ण रथयात्रा ५९औँ संस्करणको तयारी भइरहेका बेला समितिले पुरानो रथ तथा प्रयोगमा नरहेका सामग्री व्यवस्थापनका लागि लिलाम प्रक्रिया अघि बढाएको हो। यस वर्ष राधाकृष्ण रथयात्रा भदौ २० गते निकालिने तयारी छ।