विराटनगर। जेसीआई टंकिसिनवारी जुनियरले एरिया ‘ए’ अन्तर्गतका जेसीआई शाखाहरूलाई लक्षित गर्दै ‘ध्रुवलक्ष्मी एरिया–ए महिला फुटसल प्रतियोगिता २०२६’ आयोजना गर्ने भएको छ।
महिला खेलाडीलाई खेलकुदमा प्रोत्साहन गर्ने तथा विभिन्न जेसीआई शाखाबीच आपसी सम्बन्ध र सहकार्य बलियो बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। प्रतियोगिता आगामी भदौ ६ गते विराटनगरको सयश फुटसल, एयरपोर्ट मोडमा सञ्चालन हुनेछ। प्रतियोगितामा एरिया ‘ए’ अन्तर्गत पर्ने विभिन्न जेसीआई शाखाका महिला टोलीले सहभागिता जनाउने अपेक्षा गरिएको छ। जेसीआई टंकिसिनवारी जुनियरले “परिवर्तनशील संसारका लागि नेतृत्व विकास” भन्ने मूल नारासहित कार्यक्रम आयोजना गर्न लागेको हो। प्रतियोगिता प्रोजेक्ट संकल्प २०२६ अन्तर्गत सञ्चालन हुनेछ।
आयोजकका अनुसार प्रतियोगिताले महिलाको खेलकुद सहभागिता बढाउनुका साथै नेतृत्व, टीमवर्क र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्न महत्वपूर्ण भूमिका खेल्नेछ। प्रतियोगिताका लागि आयोजकले एरिया ‘ए’ अन्तर्गतका अन्य जेसीआई शाखाहरूलाई सहभागिताका लागि आह्वानसमेत गरेको छ।