सोनु साह
विराटनगर । भदौ महिना सुरु भएसँगै विराटनगरमा राधाकृष्ण रथयात्राको माहोल बन्न थालेको छ। विश्वको दोस्रो र नेपालको पहिलो ऐतिहासिक राधाकृष्ण रथयात्रा यस वर्ष पनि विगतझैँ भव्य रूपमा आयोजना गरिने भएको छ। राधाकृष्ण मन्दिर व्यवस्थापन समितिको नेतृत्वमा हुने रथयात्राको तयारी तीव्र पारिएको छ। समितिका अध्यक्ष कैलाश रेग्मीका अनुसार यस वर्ष रथमा ठूलो परिवर्तन गरिने छैन। गत वर्ष पुरानो रथलाई विस्थापित गरी नयाँ मोडलको रथ निर्माण गरिएकाले यस वर्ष सामान्य रंगरोगन तथा सिंगार मात्र गरिनेछ।
रथयात्रा विराटनगर बजार क्षेत्रमा करिब ९ किलोमिटर दूरी तय गर्दै अघि बढ्ने गर्छ। करिब डेढ किलोमिटर क्षेत्रमा रथयात्राको मुख्य माहोल रहने अध्यक्ष रेग्मीले बताए। रथयात्रामा २१ वटा उप–समिति रहेका छन् । यिनै उपसमितिले रथसँग सम्बन्धित सबै कामहरुको खर्च उनीहरुले स्वतःस्फूर्त गर्ने गर्दछन् । राधाकृष्ण रथयात्रा समारोह समितिको वा राधाकृष्ण मन्दिर व्यवस्थापन समितिको खर्च भने न्यून हुने गरेको अध्यक्ष रेग्मीले जानकारी दिनुभयो ।
रथयात्रामा हरेक वर्ष ठूलो संख्यामा भक्तजन सहभागी हुने गरेका छन्। विभिन्न जातजातिको पहिचान झल्काउने ७० वटा झाँकी समेत प्रदर्शन हुन्छ । भक्तजनका लागि प्रसाद वितरण, बाजागाजा, नाच, झाँकी तथा विभिन्न सांस्कृतिक कार्यक्रमसमेत आयोजना हुने गर्छन्। विभिन्न संघसंस्था तथा समूहहरूले स्वेच्छिक रूपमा आर्थिक तथा व्यवस्थापकीय सहयोग गर्ने गरेका छन्।
अध्यक्ष रेग्मीका अनुसार रथको सिंगार, प्रसाद वितरण, झाँकी तथा बाजागाजाको व्यवस्थापन, बजारमा पानी वितरणलगायतका अधिकांश काम विभिन्न संघसंस्थाले सहकार्यमा गर्ने भएकाले त्यसका लागि मन्दिर समिति वा रथयात्रा समितिको ठूलो रकम खर्च हुँदैन।
रथयात्राका क्रममा स्वास्थ्य सुरक्षालाई समेत प्राथमिकता दिइने गरिएको छ। विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाले मेडिकल टोली, एम्बुलेन्सलगायतका सेवा उपलब्ध गराउँदै आएका छन्।
रेग्मीले राधाकृष्ण मन्दिर वा रथयात्राको नाममा बजारबाट आर्थिक सहयोग संकलन नगर्न गरेको स्पष्ट पारे। उनका अनुसार समितिले संघसंस्थालाई दिने कागजात, निमन्त्रणा, झण्डा, चिया–खाजा तथा अन्य सामान्य व्यवस्थापनमा मात्रै खर्च गर्ने गरेको छ।
उनका अनुसार २०८२ सालमा सम्पन्न रथयात्रामा समितिको प्रत्यक्ष खर्च करिब ३ लाख ५० हजार रुपैयाँ मात्र भएको थियो। रथयात्राको व्यवस्थापनमा विराटनगर महानगरपालिका तथा प्रदेश सरकारले समेत आवश्यकता र समयअनुसार सहयोग गर्दै आएका छन्।
“रथयात्रा बाहिरबाट हेर्दा निकै ठूलो र खर्चिलो देखिन्छ, तर विभिन्न संघसंस्था तथा सहयोगी संस्थासँगको सहकार्यका कारण समितिको आफ्नै रकमबाट ठूलो खर्च गर्नुपर्ने अवस्था छैन,” अध्यक्ष रेग्मीले भने।
ऐतिहासिक राधाकृष्ण रथयात्रालाई भव्य र व्यवस्थित बनाउन यस वर्ष पनि स्थानीय संघसंस्था, अस्पताल, सुरक्षा निकाय तथा विभिन्न सामाजिक समूहहरू सहकार्यमा जुटिरहेका छन्। यसपालि भदौँ २० गते रथयात्रा निकाल्ने छ ।