विराटनगर । देखिएको यो बस साना–साना बालबालिका बोक्ने स्कुल बस हो । बसभित्र विद्यार्थीहरू बसेका छन् । विद्यालयबाट घर फर्कने तयारीमा रहेका बालबालिका बसभित्र रमाइरहेका देखिन्छन् । तर, उनीहरू चढेको बस भने जोखिमपूर्ण अवस्थामा छ । यो विराटनगर–१० स्थित ओडिसी स्कुलको बस हो । बसको अगाडिको भागको सिसा छैन ।
केही दिनअघि दुर्घटनामा परेपछि बसको अगाडिको सिसा फुटेको थियो । विद्यालय प्रशासनले फुटेको सिसा बनाए पनि पुनः सिसा फुटेको बताइएको छ । तर, अहिले त्यही सिसा नभएको बसबाट विद्यालयले विद्यार्थी ओसारपसार गरिरहेको देखिन्छ । यता ओडिसी स्कुलका संचालक निरज दासले भने बसको सिसाको मर्मत तथा सम्भारको लागि अर्डर दिएका छौँ , आजभोली नै बन्नेछ । ‘हामीले अरु बस भाडामा पनि खोजेका थियौ तर पाईरहेका थिएनौ । उनले भने, ‘‘तत्कालकोे लागी बस चलाउन वाध्य भयौ तर विद्यार्थीलाई भने अगाडी नराखेर पछाडीको सिटमा राख्ने गरेका छौँ । त्यस्तो जोखिम अहिलेलाई छैन ।’’ सिसा नभएको बसमा यसरी बालबालिका ओसारपसार गर्दा दुर्घटनाको जोखिम त छँदैछ, फुटेको सिसाका टुक्रा वा कणबाट बालबालिकाको आँखामा चोट लाग्न सक्ने जोखिम पनि उत्तिकै हुन्छ ।
त्यसैगरी, आकस्मिक रूपमा ब्रेक लगाउँदा वा दुर्घटना हुँदा बसभित्र रहेका बालबालिका अगाडिको भागबाट हुत्तिएर बाहिरिन सक्ने जोखिमसमेत रहन्छ । विद्यालयमा आफ्ना बालबालिकालाई सुरक्षित वातावरणमा पठाउने अभिभावकको अपेक्षा हुन्छ । त्यसैले विद्यार्थी बोक्ने सवारीसाधनको अवस्था, सुरक्षा मापदण्ड र आवश्यक मर्मतसम्भारमा विद्यालय प्रशासनले विशेष ध्यान दिन आवश्यक देखिन्छ
सानो लापरबाहीले ठूलो दुर्घटना निम्त्याउन सक्छ । त्यसैले सम्बन्धित विद्यालय प्रशासन र सरोकारवाला निकायले समयमै ध्यान दिई बालबालिकाको सुरक्षित यात्राको सुनिश्चितता गर्न आवश्यक देखिन्छ ।