विराटनगर । विराटनगर–९ स्थित विराट क्याम्पसले आफ्नो ३५औँ वार्षिकोत्सवका अवसरमा स्वागत तथा विदाई कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा कक्षा १२ तथा स्नातक तहको चौथो वर्ष पूरा गरेका विद्यार्थीलाई विदाई र नयाँ भर्ना भएका विद्यार्थीलाई स्वागत गरिएको छ।

क्याम्पसले कक्षा ११ अन्तर्गत व्यवस्थापन, कम्प्युटर साइन्स र होटल म्यानेजमेन्टका १ सय ९५ जना तथा स्नातक तहमा बीबीएस, बीएड र एसीसीएमा भर्ना भएका १ सय ७० जना नयाँ विद्यार्थीलाई स्वागत गरेको हो। कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख रोशन घिमिरेले क्याम्पसले गुणस्तरीय शिक्षासँगै विद्यार्थीलाई रोजगारमुखी तथा व्यवहारिक शिक्षा प्रदान गर्दै आएको बताए। उनले बदलिँदो समयअनुसार विद्यार्थीलाई ज्ञानसँगै सीप प्रदान गर्न क्याम्पस प्रतिबद्ध रहेको उल्लेख गरे।



वार्षिकोत्सवका अवसरमा क्याम्पसबाट सेवानिवृत्त भएका शिक्षकद्वय सत्यनारायण मेहता र जगत दाहाललाई सम्मान गरिएको थियो। उनीहरूलाई कार्यक्रमका अध्यक्ष तथा क्याम्पस निर्देशक आरसी कोइराला, प्रिन्सिपल रोशन घिमिरे र प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाइ मोरङका प्रमुख शालिग्राम दाहालले सम्मान गरेका थिए।

प्रमुख अतिथि दाहालले विद्यार्थीलाई सीपसहितको रोजगारमुखी शिक्षा प्रदान गर्दै सक्षम जनशक्ति निर्माणमा शैक्षिक संस्थाले जोड दिनुपर्ने बताए। कार्यक्रममा विभिन्न प्लस टु तहमा उत्कृष्ट अंक हासिल गरी विराट क्याम्पसमा भर्ना भएका विद्यार्थीलाई समेत सम्मान गरिएको थियो। यसैगरी क्याम्पसले हरेक वर्षझैँ अध्ययन पूरा गरी देशका विभिन्न क्षेत्रमा उत्कृष्टता हासिल गरेका १८ जना पूर्वविद्यार्थीलाई सम्मान गरेको छ।



सम्मानित पूर्वविद्यार्थीमा ज्योति विक्रम शाह, नन्दकिशोर यादव, चक्रबहादुर मगर, अजय ठाकुर, दिनेश अग्रवाल, प्रभु पोखरेल, डा.प्रेमरञ्जन यादव, डा. सञ्जयकुमार झा, प्रतीक पौडेल, असिम उपाध्याय, रिमेन पौडेल, राजेश रम्तेल, रोशन दाहाल, विवेक रिजाल, सुनिलकुमार शाह, रुद्रनारायण शाह र लक्ष्मीनारायण शाह रहेका छन्।



कार्यक्रममा विद्यार्थीहरूले गीत, नृत्यलगायत विभिन्न सांस्कृतिक प्रस्तुति दिएका थिए। कार्यक्रममा क्याम्पस सञ्चालक समितिका सदस्य, शिक्षक–शिक्षिका, विद्यार्थीका अभिभावक तथा शिक्षा क्षेत्रका विभिन्न व्यक्तित्वहरूको सहभागिता रहेको थियो। २०४८ सालमा स्थापना भएको विराट क्याम्पस ‘सोम्स कलेज’का रूपमा समेत परिचित छ। हाल क्याम्पसमा कक्षा ११–१२, बीबीएस, बीएड र एसीसीए गरी ६ सय ५० भन्दा बढी विद्यार्थी अध्ययनरत छन्।