विराटनगर । गत सोमबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको एउटा विशेष टोलि मोरङबाट फर्कियो । झण्डै एकसातासम्म जिल्ला प्रहरी कार्यालय मोरङमा बसेर उनले सम्पति सुद्धिकरणसँग सम्बन्धित मुद्दाको राडारमा रहेका अभिषेक गिरीको फायल विश्लेषण गरेको थियो । जसमा प्रहरीले गिरी र गिरीका आफन्त समेतको बैंकका सबै खाताहरु, त्यहाँबाट भएको कारोबार एनालाइसिस गरेको थियो । सिआईबीले संगठित गिरोह बनाएर गिरीले गरेको वित्तीय अपराधको औपचारिक सञ्जाल खोतलेको थियो । सिआईबीका वरिष्ठ प्रहरी उपरीक्षक अनुपम समशेर जबराका अनुसार कुनै घटना विशेषले सिआईबीबाट टोलि जिल्लामा पुगेको जानकारी दिएका छन् ।
अभिषेक गिरी असार १३ गते जिल्ला कारागार मोरङका कैदीबन्दीको सुविधा वापतको रकम असुल गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय मोरङको टोलिको नियन्त्रणमा परेका थिए । जिल्लाको नियन्त्रणमा रहेर अनुसन्धान गर्ने क्रममा उनी अदालतको आदेशबाट हाजिर जमानीमा छुटे । छुटेलगतै सिआईबीको नियन्त्रणमा असार २२ गते पक्राउ परेका थिए । सिआईबीले निर्माण व्यवसायी सुभाश श्रेष्ठमाथि विश्वासघात तथा ठगी कसुरमा अनुसन्धान गरेर साउन १५ गते गिरी विरुद्धको मुद्दा काठमाण्डौं जिल्ला अदालतमा लगेको थियो । अदालतले पाँचलाख धरौटी माग गरेपछि गिरीले बुझाएनन् । किन भन्दा उनी विरुद्ध मोरङ प्रहरीमा दिलिप चौधरीले अर्को ठगीको उजुरी दिएका थिए ।
तर, डिल्ली बजार कारागारबाट गिरीले निर्माण व्यवसायी श्रेष्ठसँग लेनदेनको मुद्दामा हिसाब मिलान गर्ने आश्वासन दिएपछि उनी छुटे । छुटेपछि चौधरीको जाहेरीका आधारमा उनी पुनः पक्राउ परे अनि चारदिनपछि छुटे । छुटेपछि उनले आफ्नो राजनीतिक कमिसार मानेका सचिन पोखरेलमार्फत विभिन्न कुरा सार्वजानिक गराउँदै आएका छन् । प्रहरीले त्यसलाई समेत नोट मानेर गिरीको गुण्डाराज चल्नसक्ने आंकलन गर्दै आएको छ । तर, प्रहरीले गिरी विरुद्ध सम्पति सुद्धिकरणको मुद्दाको अनुसन्धान पनि अगाडी बढाइरहेको छ । जसका लागि उनका सबै कारोबार रोक्का गर्ने काम समेत भइरहेको छ ।
सिआइबीको स्पेसल डाटा एनालाइसिस टोलीले गिरीको वित्तीय अपराध, संगठित अपराध, साइबर अपराध तथा डिजिटल वा विद्युतीय रेकर्ड र प्रविधि तथा डेटा विश्लेषण गर्न आन्तरिक रूपमा दक्ष प्राविधिक तथा अनुसन्धान विशेषज्ञहरूको टोली परिचालन गर्ने गरेको थियो । सम्पति सुद्धिकरणमा मुद्दाको अनुसन्धान गर्ने हदम्याद ९० दिन हुने भएकोले बाँकी केहि देखिएमा प्रहरीले थप टोलि बोलाउन सक्नेछ ।
२०७६ सालमा बनेको राष्ट्रिय जोखिम मूल्यांकन प्रतिवेदनले भ्रष्टाचार, करछली, मानव बेचबिखन तथा ओसारपसार र तस्करी तथा कालोबजारीलाई नेपालको उच्च जोखिमको क्षेत्र मानेको थियो। त्यसैगरी, लागुऔषध ओसारपसार, संगठित अपराध, जबर्जस्ती चन्दा असुली, ठगी, बैंकिङ कसुर, मुद्रा अपचलन, वातावरणीय अपराध, शरीर बन्धक तथा अपहरण, चोरी–डकैती, बहुमूल्य वस्तुहरूको गैरकानुनी ओसारपसार, किर्ते, जालसाजी र भित्री कारोबार (इन्साइडर ट्रेडिङ) लाई मध्यम जोखिमका क्षेत्रहरू मानेको छ। गिरीलाई यहि मध्यम जोखिम अपराधका कारोबारमा रहेको हिसाबको अनुसन्धान भइरहेको हो ।
नेपाल प्रहरीले सम्पत्ति शुद्धीकरणका २५ वटा मुद्दामा अनुसन्धान सुरु गरेको छ। आर्थिक वर्ष २०८२÷०८३ बाट सम्पत्ति शुद्धीकरणका २५ वटा मुद्दामा अनुसन्धान थालिएको हो । २०८० चैत १२ गतेको मन्त्रिपरिषद् बैठकले सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा समेत प्रहरीलाई अनुसन्धान गर्ने अधिकार दिएको थियो। त्यसअघि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई मात्रै यस्तो जिम्मेवारी थियो।
सरकारले जिम्मेवारी दिएसँगै प्रहरीले पनि सम्पत्ति शुद्धीकरणको कसुरमा आफै अनुसन्धान गर्न थालेको हो। गिरी विरुद्धको मुद्दा मोरङ प्रहरीले नै अनुसन्धान गरिरहेको छ । सम्पति सुद्धिकरण विभागले सम्पत्ति शुद्धीकरणकै कसुरमा मात्रै अनुसन्धान गर्छ । प्रहरीले अन्य मुद्दाको अनुसन्धान गर्ने क्रममा स्रोत नखुलेको सम्पत्ति फेला परेमा उक्त कसुरमा पनि अनुसन्धान गरेर मुद्दा चलाउने गरेको छ। गिरी अन्य कसुरमा पक्राउ परेका थिए । उनी हालसम्म धरौटीमा मात्रै थुनामुक्त हुन् । उनको मुद्दाको अन्तिम किनारा भने लागेको छैन ।
मोरङका प्रहरी उपरीक्षक कबित कटुवालले गर्नुपर्ने र हेर्नुपर्नेजति सबै सुक्ष्म रुपमा अनुसन्धान भइरहेको दावी गरेका छन् । उनका अनुसार गिरी र उनीसँग जोडिएका कारोबारका खाताहरु, घरजग्गा, शेयर, सहकारी, कम्पनी, सवारी सबै कुराको रेकर्ड लिएर अनुसन्धान भइरहेको हो ।