विराटनगर । विराटनगरमा आयोजित अन्तरसञ्चारगृह फुटसल प्रतियोगिताको उपाधि ‘द शब्द एक्सप्रेस’ले जितेको छ । फाइनलमा मकालु टेलिभिजनलाई ७–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै एक्सप्रेसले उपाधिमाथि कब्जा जमाएको हो । ब्रेकिङ नेपाल न्युजको प्रथम वार्षिकोत्सवका अवसरमा आयोजित प्रतियोगितामा विराटनगरका १४ सञ्चारगृहका टोलीले सहभागिता जनाएका थिए । सञ्चारकर्मीबीच आपसी सम्बन्ध, सहकार्य र भाइचारालाई थप मजबुत बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताले समाचार संकलन, सम्पादन र प्रसारणको नियमित दायराभन्दा बाहिर सञ्चारकर्मीलाई खेलकुदमार्फत एकै मैदानमा उतार्ने अवसर दिएको थियो । फरक सञ्चारगृहका खेलाडीबीच भएको प्रतिस्पर्धा, सहकार्य र उत्साहले प्रतियोगितालाई थप रोचक बनाएको आयोजकको भनाइ छ ।
प्रतियोगिता केवल उपाधिका लागि भएको प्रतिस्पर्धामा सीमित नरही विभिन्न सञ्चारगृहका सञ्चारकर्मीबीच सम्बन्ध विस्तार र सहकार्यको माध्यमसमेत बनेको थियो । मैदानमा प्रतिस्पर्धा गरे पनि प्रतियोगिताले सञ्चार क्षेत्रभित्रको आपसी एकता र सहकार्यको सन्देश दिएको आयोजकले जनाएको छ । ब्रेकिङ नेपाल न्युजका प्रधानसम्पादक मीनकुमार नवोदितले सञ्चारकर्मीलाई नियमित कार्यक्षेत्रबाहिर पनि एकअर्कासँग जोड्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए ।
विजेता ‘द शब्द एक्सप्रेस’ र उपविजेता मकालु टेलिभिजनलाई आगामी भदौ ११ गते विराटनगरमा आयोजना हुने विशेष समारोहबीच ट्रफी, मेडल, प्रमाणपत्र तथा आकर्षक पुरस्कार प्रदान गरिने प्रतियोगिता संयोजक जतिन ताम्राकारले बताए । प्रतियोगितामा सहभागी अन्य टोली र खेलाडीलाई समेत आयोजकले सम्मान गर्ने जनाएको छ । प्रतियोगितामा मेडिकलमा विराटनगरस्थित प्राइम अस्पतालले सहयोग गरेको थियो ।
प्रतियोगिताको उदघाटन विराटनगर महानगरपालिकाकी उपमेयर शिल्पा निराला कार्कीले गरेकी थिइन् । कार्यक्रममा प्रमुख अतिथिसमेत रहेकी उपमेयर कार्कीसहित पत्रकार महासंघका केन्द्रीय सदस्य कमल रिमाल, कोशी प्रदेश उपाध्यक्ष कुमोद अधिकारी, मोरङ सुशीला पाठकलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।