प्रेम देवान
विराटनगर । कोशी राजमार्गअन्तर्गत विराटनगरको रानीदेखि कञ्चनबारीसम्म भासिएका तथा सतह नमिलेका सडकलाई सम्याउने तथा मर्मत गर्ने काम अहिले धमाधम भइरहेको छ । सडकमा भएका खाल्डाखुल्डी पुर्ने, भासिएका भाग मिलाउने र सवारी आवागमन सहज बनाउने काम सडक डिभिजन कार्यालय विराटनगरले अघि बढाएको हो ।
सडक डिभिजन कार्यालय विराटनगरका अनुसार पहिलो चरणअन्तर्गत विराटनगर–१४ मलायरोडस्थित नहरदेखि बरगाछीसम्मका सडकमा रहेका खाल्डाखुल्डी तथा भासिएका स्थानको मर्मत गरिनेछ । त्यसपछि आवश्यकताअनुसार अन्य क्षेत्रमा समेत मर्मतको काम अघि बढाइने कार्यालयले जनाएको छ ।
भारतबाट क्षमताभन्दा बढी भार बोकेर आउने मालवाहक सवारी साधनका कारण रानीस्थित आईसीपीदेखि कञ्चनबारीसम्मका अधिकांश सडक पटक–पटक भासिने गरेको सडक डिभिजन कार्यालय विराटनगरका सुपरभाइजर शिव दाहालले बताउनुभयो । सडकको सतह नमिल्दा सवारी साधन अनियन्त्रित हुने र दुर्घटनाको जोखिम बढ्ने भएकाले भासिएका सडकलाई तत्काल सम्याउने काम भइरहेको उहाँको भनाइ छ । साथै, विराटनगरको ऐतिहासिक रथयात्रा नजिकिँदै गएकाले पनि रथयात्राका क्रममा सवारी तथा भक्तजनको आवागमन सहज होस् भन्ने उद्देश्यले सडक मर्मतलाई तीव्रता दिइएको दाहालले जानकारी दिनुभयो ।
कोशी राजमार्गअन्तर्गत रानीदेखि कञ्चनबारीसम्मको सडकमा देखिएको समस्या तत्कालका लागि सडक डिभिजनले मर्मत गरेर समाधान गर्ने प्रयास गरिरहेको छ । तर, सडक मर्मत मात्रै गरेर समस्या दीर्घकालीन रुपमा समाधान हुने देखिँदैन । सडकको क्षमता, सवारी साधनको भार र भन्सारबाट हुने मालवाहक सवारीको आवागमनलाई व्यवस्थित गर्न नसके सडक भासिने क्रम दोहोरिरहनेछ । त्यसैले सडक मर्मतसँगै क्षमताभन्दा बढी भार बोकेका सवारी साधनको नियमन र सडकको दीर्घकालीन संरक्षणमा सम्बन्धित निकायले ध्यान दिन आवश्यक देखिन्छ ।