विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन्। सोमबार दिउँसो २ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मतका लागि प्रस्ताव पेस गर्ने कार्यसूची रहेको छ। नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको भदौ ३ गते बसेको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेपछि मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन लागेका हुन्।
कांग्रेसले समर्थन फिर्ता लिएसँगै प्रदेश सरकारमा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बीच नयाँ राजनीतिक सहकार्य बनेको छ। नयाँ सहमतिअनुसार मुख्यमन्त्री कार्कीले सरकार पुनर्गठन गर्दै नेकपाका चार जना प्रदेश सभा सदस्यलाई सोमबार मन्त्रीका रूपमा शपथसमेत गराइसकेका छन्।अब मुख्यमन्त्री कार्कीले प्रदेश सभामा विश्वासको मत प्राप्त गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार आज विश्वासको मत लिन लागेका हुन्।