विराटनगर। विराटनगर महानगरपालिकाले सडक सुरक्षा र सहरी व्यवस्थापनलाई कडाइ गर्दै छाडा चौपाया नियन्त्रण अभियानलाई निरन्तरता दिएको छ। सोही क्रममा शनिबार पनि विराटनगरको मलाया रोडस्थित सडकपेटीमा छाडा छाडिएका १७ वटा बाख्रा महानगर प्रहरीले नियन्त्रणमा लिएको छ।



नियन्त्रणमा लिइएका बाख्राहरूलाई हाल वीरेन्द्र सभा गृह परिसर नजिक सुरक्षित राखिएको महानगर प्रहरीले जनाएको छ। महानगर प्रहरीका अनुसार सम्बन्धित बाख्रा धनीले आवश्यक प्रमाणसहित उपस्थित भई नियमानुसार तोकिएको जरिवाना बुझाएर आफ्ना बाख्रा लैजान सक्नेछन्। तोकिएको समयभित्र प्रमाणसहित लिन नआएमा कानुनबमोजिम ती बाख्राहरू लिलाम प्रक्रियामार्फत बिक्री गरिनेसमेत महानगर प्रहरीले चेतावनी दिएको छ।
सडकपेटी तथा मुख्य राजमार्गमा चौपाया छाडा छाड्दा दुर्घटनाको जोखिम बढ्नुका साथै सहरी सुन्दरतामा असर परेकाले महानगरले पछिल्ला दिनहरूमा कडाइका साथ नियन्त्रण अभियान चलाउँदै आएको छ।