सोनु साह
विराटनगर । विराटनगर महानगरपालिका–४ स्थित पुरानो विमानस्थलको अगाडि निर्माणाधीन नयाँ टर्मिनल भवन निर्माण सुरु भएको करिब चारवर्ष बित्न लाग्दा पनि सम्पन्न हुन सकेको छैन। २०७९ फागुन १ गते शिलान्यास भएको भवन सम्झौताअनुसार २०८२ मंसिरभित्र निर्माण सम्पन्न गर्नुपर्ने थियो। तर, निर्धारित समयमा काम पूरा हुन नसकेपछि पहिलोपटक म्याद थप गरिएको छ।

केसी–डाँफे जेभीले करिब २ अर्ब ४२ करोड रुपैयाँ (भ्याटबाहेक) लागतमा भवन निर्माणको जिम्मा लिएको हो। निर्माण कम्पनीले कामलाई तीव्रता दिएको दाबी गरे पनि निर्माणको गति अझै सन्तोषजनक देखिएको छैन। निर्माण कम्पनीका प्रोजेक्ट म्यानेजर रमेश पौडेलका अनुसार हालसम्म भवनको भौतिक प्रगति ७९ प्रतिशत र वित्तीय प्रगति ७६ प्रतिशत पुगेको छ। पहिलोपटक म्याद थप गरी २०८३ पुसभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको उनले बताए। “पहिलो म्याद थप गरेर काम अघि बढाएका छौँ। पुसभित्र काम सम्पन्न गर्ने लक्ष्य छ। अहिले सयौँ कामदार परिचालन गरेर निर्माणलाई तीव्रता दिएका छौँ,” पौडेलले भने।
देशकै ठूलो आन्तरिक टर्मिनल हुने दाबी
विराटनगरमा निर्माण भइरहेको नयाँ टर्मिनल भवन आन्तरिकतर्फ देशकै ठूलो टर्मिनल भवन हुने बताइएको छ। भवनको कुल क्षेत्रफल १६ हजार २७७ वर्गमिटर रहेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन करिब १५ हजार वर्गमिटर तथा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन करिब १४ हजार वर्गमिटर क्षेत्रफलमा निर्माण भएको छ। क्षेत्रफलका आधारमा विराटनगरको नयाँ टर्मिनल भवनलाई देशकै ठूलो टर्मिनल भवनका रूपमा लिइएको हो।
तीनतले भवनमा एकपटकमा ५ सय ५० यात्रु अट्ने क्षमता रहनेछ। भवनमा १७ वटा चेक–इन काउन्टर, अति विशिष्ट कक्ष, विशिष्ट कक्ष, बालबालिकाका लागि खेल्ने स्थान, पत्रकार सम्मेलन कक्ष, भन्सार, अध्यागमन, क्वान्टिन तथा विभिन्न व्यावसायिक पसल र कक्ष रहनेछन्। त्यस्तै, भवनमा चारवटा लिफ्ट र चारवटा स्काइलेटरसमेत निर्माण गरिनेछ।
पर्यटन र व्यवसायमा टेवा पुग्ने अपेक्षा
कोशी प्रदेशको राजधानी विराटनगरमा आधुनिक टर्मिनल भवन सञ्चालनमा आएपछि पर्यटन तथा व्यवसायिक गतिविधिमा समेत वृद्धि हुने अपेक्षा गरिएको छ। नयाँ संरचनाले यात्रु तथा विदेशी नागरिकको आवागमन सहज बनाउने भएकाले होटल, पर्यटन तथा अन्य व्यवसायमा सकारात्मक प्रभाव पर्ने पर्यटन व्यवसायीहरूको अपेक्षा छ।
नयाँ टर्मिनल भवन सञ्चालनमा आएपछि विराटनगरलाई पूर्वी नेपालको प्रमुख हवाई केन्द्रका रूपमा थप व्यवस्थित बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ। निर्माण कम्पनीका अनुसार भवनको निर्माण २०८३ पुसभित्र सम्पन्न गरी नयाँ वर्ष २०८४ वैशाखदेखि सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।