विराटनगर । विराटनगर–१८ स्थित एकीकृत जाँच चौकी (आइसिपी) लाई कोशी राजमार्गसँग जोड्ने ‘लिंक रोड’ चारलेनमा विस्तार गर्ने कार्य सुरु भएको छ । आईसिपी क्षेत्रसँगै कार्गोरेलको नेपाल कष्टम यार्ड रहेको छ । कार्गोरेलमार्फत आयात हुने सामान ढुवानीका लागि आईसिपीदेखि कोशी राजमार्गसम्मको दुरीको सडक दुईलेनबाट चारलेनमा विस्तार थालिएको हो ।
दुईलेनको सडकबाट सामान ढुवानी गर्ने ठुला मालवहाक सवारी आवातजावतमा असहज बन्दै आएको थियो । विराटनगर (रानी)–धरान कोशी राजमार्ग छलेनमा विस्तार भइसकेको छ । औद्योगिक कच्चा बोकेर आउने मालवहाक साविक रानी भन्सार क्षेत्रभन्दा पाँच किलोमिटर पूर्व आईसिपीमा सरेपछि सडक विस्तारको आवश्यकता परेको हो ।
कोशी राजमार्ग अन्तर्गत विराटनगर–१४ को हनुमान मन्दिरदेखि आईसिपीसम्मको सडक विस्तार कार्यका लागि वातावरणीय अध्ययन प्रतिवेदन तयार पारेर स्थानीयसँग छलफल समेत गरिसकिएको नेपाल इन्टरमोडल यातायात विकास समितिका निर्देशक युवक डंगोलले जानकारी दिएका छन् । १८ महिनामा सम्पन्न गर्ने गरी ४० करोड रुपैँयामा यो ठेक्का लागेर काम भइरहेको हो । लिंक रोडसहित आईसिपी भित्र गोदाम, पार्किङसहितका संरचना समेत ठेक्का लागेका छन् ।
विराटनगर महानगरपालिकाको १४, १७ र १८ नम्बर वडा क्षेत्रमा पर्ने यो सडक विस्तारसँगै मालवहाक सवारी र वस्तीका वासिन्दाको आउजाउ सहज हुनेछ । बारम्बार दुर्घटना हुने जोखिम न्यूनीकरण गर्नका लागि अन्डर पासिङ्ग रोड, ओभर ब्रिज र डुबानको समस्या निराकारणका लागि निकासको व्यवस्था मिलाइनेछ । स्थानीयले सडक विस्तारसँगै बत्ति, पानीको निकास, अण्डर र ओभर क्रसिङ्ग संरचना समेत राखिनुपर्ने माग गरेको थिए ।