विराटनगर भाद्र १० ,
अमर न्यौपानेको मदन पुरस्कार विजेता उपन्यासमा आधारित चर्चित नाटक ‘सेतो धरती’ विराटनगरमा मञ्चन हुने भएको छ। काठमाडौंमा १०१ शोको सफल प्रदर्शनपछि कान्तिपुर थिएटरले नाटकलाई पहिलोपटक विराटनगर ल्याउन लागेको हो।
नाटक भदौ १२, १३ र १४ गते विराटनगरस्थित आरोहण गुरुकुलमा मञ्चन हुनेछ। तीन दिनमा दैनिक तीन शो, बिहान ९ बजे, दिउँसो १२ बजे र ३ बजे, हुने आयोजकले जनाएको छ।
सुन्दर धितालको परिकल्पना तथा निर्देशन रहेको नाटकले नेपाली समाजमा रहेको बालविवाह, बालविधवा, महिलामाथिका सामाजिक बन्धन र पितृसत्तात्मक संरचनाले महिलाको जीवनमा पारेको प्रभावलाई मुख्य विषय बनाएको छ।
नाटकको मुख्य पात्र ‘तारा’को बाल्यकालदेखि वृद्धावस्थासम्मको जीवनयात्रामार्फत नेपाली समाजको एउटा कठोर विगतलाई मञ्चमा प्रस्तुत गरिएको छ। नाटकमा करिब दुई दर्जन कलाकारको अभिनय रहेको छ।