विराटनगर। रसुवा जिल्ला भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट भएको अमूल्य जीवन र सम्पत्तिको क्षति प्रति उद्योग संगठन मोरङले गहिरो दुःख व्यक्त गरेको छ । प्रकृतिको क्रूर प्रहारले धेरै घरपरिवारको खुसी खोसेको यस पीडादायी घडीमा संगठनका अध्यक्ष नन्द किशोर राठीले बाढीमा ज्यान गुमाउनु भएका सम्पूर्ण मृतकहरू प्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनहरूले सहनु परेको असीम पीडामा संगठन उहाहरुसँगै उभिएको जनाउँदै, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभ र प्रभावित नागरिकहरूको सुरक्षित जीवनको कामना गर्नुभयो ।
संगठनका अध्यक्ष राठीले निजी क्षेत्र आर्थिक गतिविधिको संवाहक मात्र नभई समाजकै अभिन्न अंग भएकाले, राष्ट्रले पीडा भोग्दा निजी क्षेत्रले पनि त्यो पीडा महसुस गर्ने बताउदै मानवीय सहायता स्वरुप रु. १५ लाख नगद सहयोग गरेको उपलब्ध वताउनु भयो । प्रधानमन्त्री दैवीक प्रकोप उद्धार कोषमा जम्मा गर्नेगरी मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेललाई संगठनले आज पन्ध्र लाखको चेक हस्तान्तरण गरेको छ ।
संगठनले आफ्ना सम्पूर्ण सदस्य उद्योग तथा प्रतिष्ठानहरूलाई समेत यस राष्ट्रिय दुःखको घडीमा आ–आफ्नो क्षमता र सामथ्र्य अनुसार सरकारको उद्धार तथा राहत कोषमा हातेमालो गर्न अनुरोध गरेको छ । त्यसैगरी दिनरात अग्रपंक्तिमा रहेर उद्धार तथा राहत कार्यमा खटिनुभएका नेपार सरकार सुरक्षा निकाय, स्वास्थ्यकर्मी, विभिन्न संघसंस्था, स्वयंसेवक तथा सहयोगी सम्पूर्ण हातहरूप्रति संगठनले आभार र सम्मान व्यक्त गर्दै प्रभावित नागरिकहरूको जीवनमा पुनः आशा र मुस्कान फर्काउन सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनी एकजुट भई उहाहरुको साथमा उभिन अनुरोध गरेको छ ।