विराटनगर भदौ १२ ,
भोटेकोशीमा आएको विनाशकारी बाढीले सयौँको ज्यान लिएको र अर्बौंको क्षति पुर्याएको घटना सेलाउन नपाउँदै कोशी प्रदेशमा ४२ वटा हिमताल विस्फोटको उच्च जोखिममा रहेको तथ्य सार्वजनिक भएको छ।
सरकारी प्रतिवेदनअनुसार अरुण, तमोर, दुधकोशी, तामाकोशी र सुनकोशी जलाधारका हिमतालहरू जलवायु परिवर्तनका कारण तीव्र गतिमा फैलिरहेका छन्। १० जिल्लाका १२ हजार ७०६ घरधुरी प्रत्यक्ष जोखिममा छन्।
हिमताल फुटेमा नदी किनारका बस्ती मात्र होइन, जलविद्युत् आयोजना, पुल, सडक र सरकारी संरचनामा अर्बौंको क्षति हुनसक्ने चेतावनी विज्ञहरूले दिएका छन्।
पछिल्लो १० वर्षमै कोशीमा मनसुनजन्य विपद्बाट ५४३ जनाको मृत्यु, ८६ जना बेपत्ता र १५ अर्बभन्दा बढी आर्थिक क्षति भइसकेको छ।