विराटनगर भाद्र १३ ,
विराटनगरमा प्रत्येक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने ऐतिहासिक तथा प्रसिद्ध राधाकृष्ण रथयात्राका क्रममा संकलन हुने सम्पूर्ण दान, दक्षिणा तथा भेटी प्रधानमन्त्री दैवीप्रकोप उद्धार तथा राहत कोषमा जम्मा गर्ने निर्णय गरिएको छ।
प्राकृतिक विपद् तथा संकटको घडीमा पीडित नागरिकहरूको उद्धार, राहत तथा पुनस्र्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले यस्तो निर्णय लिइएको आयोजक पक्षले जनाएको छ।
दक्षिण एसियाकै ठूला धार्मिक उत्सवहरूमध्ये एक मानिने विराटनगरको राधाकृष्ण रथयात्रामा नेपाल तथा छिमेकी मुलुक भारतबाट समेत लाखौँ भक्तजनको सहभागिता रहने गर्दछ।
आयोजक समितिका अनुसार रथयात्रा अवधिभर संकलन हुने भेटीको यथार्थ विवरण पारदर्शी रूपमा सार्वजनिक गरी एकमुष्ट रकम सरकारको आधिकारिक राहत कोषमा दाखिला गरिनेछ। यस निर्णयले धार्मिक अनुष्ठानलाई मानवीय सेवासँग जोड्दै संकटमा परेका नागरिकहरूलाई प्रत्यक्ष राहत पुग्ने विश्वास लिइएको छ।