विराटनगर । कोशी प्रदेशका सचिव कोषहरि निरौलालाई शव व्यवस्थापनका लागि रसुवाको टिमुरे खटाइएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै निरौलालाई काजमा टिमुरे खटाउने निर्णय गरेको हो।
रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएपछि उद्धार तथा राहतसँगै शव व्यवस्थापनको कामसमेत चुनौतीपूर्ण बनेको छ। सोही क्रममा अनुभवका आधारमा निरौलालाई टिमुरे खटाइएको जनाइएको छ। निरौलाले शनिबार मात्रै सामाजिक सञ्जाल फेसबुकमार्फत ‘फोकटको सल्लाह’ शीर्षकमा सरकारलाई विभिन्न सुझाव दिएका थिए। कोभिड–१९ को समयमा आफू मोरङको प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत रहँदा शव व्यवस्थापनसम्बन्धी काम गरेको अनुभवसमेत उनले सामाजिक सञ्जालमा उल्लेख गरेका थिए।
उनले आफ्नो धारणा राख्दै शव व्यवस्थापन गर्दा मृतकको धर्म तथा परम्पराअनुसार अन्तिम संस्कार गर्न पाउनुपर्ने र शव गाड्नु उपयुक्त नहुने विचार व्यक्त गरेका थिए। निरौलाले उक्त धारणा सार्वजनिक गरेको भोलिपल्टै उनलाई शव व्यवस्थापनका लागि रसुवाको टिमुरे खटाउने निर्णय भएको हो। यद्यपि, मन्त्रालयको निर्णयमा उनको सामाजिक सञ्जालमा व्यक्त धारणालाई आधार बनाइएको वा त्यसकै कारण काजमा खटाइएको भन्ने स्पष्ट उल्लेख छैन।
निरौलाले यसअघि फेसबुकमा राखेको उक्त स्टाटस भने अहिले हटाएका छन्। रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीपछि बेपत्ता तथा मृतकको खोजी, उद्धार र शव व्यवस्थापनका लागि सरकारी निकाय तथा सुरक्षा संयन्त्र परिचालित छन्।
