विराटनगर । भोटेकोशी तथा त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि हिमगिरि हाइजीन लिमिटेडले ७० लाख रुपैयाँ बराबरको व्यक्तिगत तथा घरायसी हाइजीन सामग्री सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। मोरङको टंकीसिनुवारीमा २०८३ भदौ १४ गते कम्पनीले विज्ञप्ति जारी गर्दै बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग गर्ने जनाएको हो।
कम्पनीले बाढीमा ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ। साथै, घाइते तथा प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभ, सुरक्षित उद्धार र आवश्यक राहतको कामना गरेको छ। बाढीपछि सरसफाइको अभावमा विभिन्न संक्रामक रोग फैलिन सक्ने जोखिमलाई ध्यानमा राख्दै कम्पनीले साबुन, डिटर्जेन्टलगायत अत्यावश्यक हाइजीन सामग्री प्रभावित परिवारलाई राहतस्वरूप उपलब्ध गराउने जनाएको छ।
विपद्को कठिन परिस्थितिमा प्रभावित नागरिकको साथमा उभिनु साझा दायित्व भएको उल्लेख गर्दै कम्पनीले तत्काल राहतसँगै पुनःस्थापनाका कार्यमा समेत सहयोग पुर्याउने प्रतिबद्धता जनाएको हो। कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गर्न लागेको जनाएको छ। साथै, राहत, उद्धार तथा पुनःस्थापनाका कार्यमा खटिएका सुरक्षाकर्मी, उद्धारकर्मी तथा सम्बन्धित निकायप्रति समेत हिमगिरि हाइजीन लिमिटेडले सम्मान व्यक्त गरेको छ।
भोटेकोशी तथा त्रिशूली क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकका लागि विभिन्न संघसंस्था तथा निजी क्षेत्रबाट राहत तथा सहयोग घोषणा भइरहेका बेला हिमगिरि हाइजीनको यो सहयोगले प्रभावित परिवारलाई आवश्यक सरसफाइ सामग्री उपलब्ध गराउन मद्दत पुग्ने अपेक्षा गरिएको छ।