विराटनगर । रसुवाको विनाशकारी बाढीले नागरिकको घरबारदेखि जीवनसम्ममा ठूलो क्षति पुर्याइरहेका बेला विराटनगरको स्वस्तिका ट्रान्सपोर्ट प्रालि राहतको साथ लिएर अघि आएको छ। बाढी प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले स्वस्तिका ट्रान्सपोर्टले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग गरेको हो।

स्वस्तिका ट्रान्सपोर्ट र संस्थापक स्वर्गीय कृष्णप्रसाद सिग्देलको नाममा स्थापित कृष्णप्रसाद सिग्देल स्मृति प्रतिष्ठानले संयुक्त रूपमा उक्त रकम एभरेष्ट बैंकको कञ्चनवारी शाखामार्फत कोषमा जम्मा गरेका हुन्। कम्पनीकी अध्यक्ष सीता सिग्देलका अनुसार विपद्को पीडामा रहेका नागरिकसँग ऐक्यबद्धता जनाउँदै सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरिएको हो।
बाढीले दिएको पीडामा मल्हम लगाउने सानो प्रयासका रूपमा गरिएको यो सहयोगले प्रभावित परिवारको राहत र पुनर्निर्माणमा केही भए पनि टेवा पुग्ने अपेक्षा गरिएको छ।