विराटनगर । विराटनगरका स्थानीय संगीतकर्मीहरूको समूह 'विराटनगर म्युजिसियन ग्रुप'ले बाढीपीडितहरूको उद्धार तथा राहत सहयोगका लागि 'म्युजिक फर होप' नाममा च्यारिटी सांगीतिक कार्यक्रम आयोजना गर्ने भएको छ। "संगीत हाम्रो भाषा, सेवा हाम्रो भावना" भन्ने मूल नाराका साथ आयोजना हुन लागेको उक्त सांगीतिक कार्यक्रम आगामी भाद्र १७ गते (सेप्टेम्बर २, २०२६) बुधबारका दिन दिउँसो २:०० बजेदेखि विराटनगरको ट्राफिक चोकस्थित सेन्ट्रल मलमा सञ्चालन हुनेछ।
'एकता, संगीत र सहानुभूति ,यही हो हाम्रो शक्ति' भन्ने सन्देशसहित आयोजना गर्न लागिएको यो कार्यक्रमबाट संकलित सम्पूर्ण रकम बाढीपीडित नागरिकहरूलाई राहत, खाद्यान्न, बासस्थान र स्वास्थ्य उपचार सहयोगका लागि उपलब्ध गराइने आयोजकले जनाएको छ।
आयोजक समूहले विपद्को यस घडीमा सबैलाई ऐक्यबद्धता जनाउँदै उपस्थित भई सहयोग, हौसला प्रदान गर्न तथा कार्यक्रममा सहभागी भई बाढीपीडितहरूको जीवनमा आशाको सञ्चार गराउन सर्वसाधारण, संगीतप्रेमी एवं स्थानीय समुदायलाई अपिल गरेको छ।