विराटनग । श्री कृष्ण जन्माष्टमीको भोलिपल्ट विराटनगरको राधाकृष्ण मन्दिरको प्राङ्गणबाट निकालिने राधाकृष्ण रथयात्रा विराटनगरको एक गौरवमय रथयात्रा मानिन्छ। अझ भन्नुपर्दा यो रथयात्रा दक्षिण एसियाकै दोस्रोठूलो रथयात्राको रूपमा परिचित छ। यो गौरवमय रथयात्राको ऐतिहासिक पृष्ठभूमिलाई पल्टाएर हेर्दा वि.स. १९८८ मा आठजनाले राधाकृष्णको युगल जोडीलाई खटमा राखेर परिक्रमा गराएको "खटयात्रा" बाट शुरूवात भएको मानिन्छ। पछि वि.स. २०२५ मा यो खटयात्रा लाई रथयात्रामा परिणत गरि राधाकृष्ण युगल जोडीलाई रथमा राखेर सजावट सहित नगर परिक्रमा गराउन थालियो। यो राधाकृष्ण रथयात्रा निरन्तर रूपमा हिन्दूहरूको धार्मिक आस्थाको रूपमा रहदै आएको देखिन्छ।
आजभन्दा करिब पाँच हजार वर्ष देखि विश्वकै पुरानो धर्मको रूपमा आबद्ध दर्शन नै हिन्दूधर्म हो। हिन्दूधर्म बहुईश्वरवाद (polythesim) मा आधारित धर्म हो, जहा विभिन्न ईश्वरका स्वरूप प्रति विश्वास गरिन्छ। विभिन्न सम्प्रदायहरू यस धर्ममा आबद्ध रही परम्परा देखि यस धार्मिक विश्वासलाई अविच्छिन्न रूपमा अगाडि बढाएको देखिन्छ। विशेषगरि नेपाल र भारतमा बहुसङ्ख्यक हिन्दूहरू छन। स्वर्ग, नर्क, मोक्ष, मुक्ति, शुध्द, अशुद्ध, ज्ञान, विज्ञान जस्ता सामाजिक सम्बन्धको प्रारूप निकै गहिरो रूपमा धर्म संग सरोकारित छन, जस्ले गर्दा समाजमा व्यक्तिको व्यवहार, आचरण र क्रियाकलापलाई सही निर्देशन गरेको देखिन्छ। हिन्दूधर्मको वैष्णव सम्प्रदाय अन्तर्गत भगवान विष्णुले सत्य, त्रेता, द्वापर र कलियुगमा आफ्नो अवतार यस पृथ्वीमा देखाएको पाइन्छ। त्यस्ता अवतारहरू दश प्रकारका छन: मत्स्य, कुर्म, वराह, नृसिंह, वामन, परशुराम, श्रीराम, श्रीकृष्ण, बुद्ध र कल्कि। यी मध्ये वैष्णव सम्प्रदायका मानिसहरू श्रीकृष्ण लाई भगवान विष्णुको मुख्य आठौ अवतारका रूपमा लिने गर्दछन। धर्म, न्याय र सत्यका लागि श्रीकृष्णले द्वापर युगमा पृथ्वीमा जन्म लिएको पाइन्छ। हिन्दू पञ्चाङ्ग अनुसार भाद्रकृष्ण अष्टमीको मध्यरातमा श्रीकृष्णको जन्म भएकोले उक्त दिनलाई "श्रीकृष्ण जन्माष्टमी" र रातलाई "मोहरात्री" भनिन्छ। मोहरात्रीको भोलिपल्ट राधाकृष्णलाई रथमा राखेर नगर परिक्रमा गराइन्छ। राधा भगवान श्रीकृष्णको मुख्य सखी, प्रियतमा तथा प्रेम र भक्तिकी देवी हुनुहुन्छ। राधालाई लक्ष्मीको अवतार र श्रीकृष्णको आन्तरिक शक्तिको रूपमा मानिन्छ।
महाभारत युद्धमा भगवान श्रीकृष्णले अर्जुनलाई गीताको उपदेश दिनु भएको थियो, जुन ज्ञान, प्रेम र धर्मको प्रतिक मानिन्छ। यो उपदेश मनन योग्य छ। राधाकृष्ण रथयात्राको अगाडि व्राहमणहरू द्वारा वेद र गीताको श्लोकहरू पढदै रथलाई बढाउँदै लगिन्छ। विभिन्न जाति जनजातिहरूको झाँक्री, जुलुस, नाचगानका साथै कृष्णलिला, रामलिला, शिवजीको ताण्डव नृत्य, हनुमान आदिका मूर्तिहरूलाई विभिन्न परिदृश्यका सजावट साथ गाडीमा राखेर भजन किर्तन सहित राधाकृष्ण रथका अगाडि पछाडि लगाई नगर परिक्रमा गराइन्छ। १२६ जातजाति रहेको नेपालमा धार्मिक सहिष्णुता छ। रथयात्राका दिन देशका विभिन्न क्षेत्रमा रहेका सांस्कृतिक प्रेमी र छिमेकी राज्य भारतबाट पनि हजारौको संख्यामा दर्शनार्थीहरू विराटनगर क्षेत्रमा देखिन्छन। करिब पाँच लाख जनसङ्ख्याले रथको दर्शन गरेको वार्षिक प्रतिवेदन बाट थाहा पाइन्छ। अपरान्ह एक दुई बजेतिर शुरू भएको यो रथयात्रा नौ किलोमिटर नगर परिक्रमा गरि साझमा राधाकृष्ण मन्दिरको प्राङ्गणमा आएर नै टुङ्गिन्छ। यो गौरवान्वित राधाकृष्ण रथयात्रा विराटनगरवासीको एउटा ठूलो धार्मिक सांस्कृतिक पहिचानको रूपमा अगाडि बढिरहेको छ।