विराटनगर । कृषि, भेट्नरी र वनविज्ञान शैक्षिक कार्यक्रम अध्ययन गर्न चाहने विद्यार्थीले अब भर्ना परीक्षा इटहरीमै दिन पाउने भएका छन् । कृषि तथा वन विज्ञान विश्वविद्यालय चितवन रामपुरले यो अवसरलाई विस्तार गर्दै विद्यार्थीका लागि सहजीकरण गरेको हो ।
यो विश्वविद्यालयले अघिल्ला वर्षहरूमा चितवन र काठमाडौंमा मात्र प्रवेश परीक्षाको केन्द्र दिने गरेको थियो । आगामी शैक्षिक सत्रका लागि भने इटहरीको जनता स्कुललाई समेत परीक्षा केन्द्र तोकेको हो ।
विश्वविद्यालयले भाद्र १७ गतेसम्म प्रवेश परीक्षाको लागि फर्म भर्ने म्याद राखेको छ । २० गते प्रवेश परीक्षाको मिति तोकेको छ । विश्वविद्यालयले कक्षा ९–१२ कृषि पढेका, कृषिमा डिप्लोमा (आइएसीएजी) गरेका र साइन्स विषयमा १२ कक्षा उतिर्ण गरेकालाई प्रवेश परिक्षामा सहभागि गराउने जनाइएको छ ।
विश्वविद्यालयले प्रवेश परीक्षा राखेकोमा जीविका कृषि विज्ञान कलेजका व्यवस्थापक शिवकुमार डाँगीले यो स्वागतयोग्य रहेको बताएका छन् । किनकी विद्यार्थीले चितवन वा काठमाण्डौं जानुपर्ने बाध्यता हटेको हो ।
कृषि तथा वन विज्ञान विश्वविद्यालय नेपालको एक सार्वजनिक कृषि विश्वविद्यालय हो। यसको केन्द्रीय कार्यालय चितवनको रामपुरमा रहेको छ। ६े त्रिभुवन विश्वविद्यालयका दुई आङ्गिक क्याम्पसहरू कृषि तथा पशु विज्ञान अध्ययन संस्थान अन्तर्गतको रामपुर कृषि क्याम्पस र वन विज्ञान अध्ययन संस्थान अन्तर्गतको हेटौँडा क्याम्पसलाई मिलाएर २०६७ मा पारित विधेयकद्वारा नेपालको संसदले यसको स्थापना गरेको थियो।