विराटनगर । विराटनगर–१६ दरैयास्थित कोलर चोकबाट ६० किलो गाँजा बरामद भएको घटनामा प्रयोग भएको भनिएको को १ च ६६२० नम्बरको सुजुकी भ्यान आफ्नो स्वामित्वमा नरहेको दिव्य ज्योति अस्पताल प्रालिले स्पष्ट पारेको छ। बुधबार पत्रकार सम्मेलन गर्दै अस्पतालले विभिन्न सञ्चारमाध्यम तथा अनलाइन पोर्टलमा उक्त भ्यानलाई ‘दिव्य ज्योति अस्पताल प्रालि’सँग जोडेर समाचार प्रकाशित तथा प्रसारित भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो।

अस्पतालका अध्यक्ष देवा यादवले को १ च ६६२० नम्बरको सुजुकी भ्यान अस्पतालको स्वामित्वमा नरहेको स्पष्ट पारे। भ्यानमा अस्पतालको नाम लेखिएको भए पनि त्यसकै आधारमा सवारीसाधनलाई अस्पतालसँग जोडेर समाचार सम्प्रेषण हुँदा संस्थाको प्रतिष्ठा र जनविश्वासमा अनावश्यक भ्रम सिर्जना भएको यादवले बताए। उनले सञ्चारमाध्यमलाई समाचार प्रकाशन तथा प्रसारण गर्नुअघि सवारीसाधनको वास्तविक स्वामित्व र घटनासँगको सम्बन्धबारे सत्यतथ्य पुष्टि गर्न आग्रह गरे।
अस्पतालले उक्त गाँजा बरामद घटनामा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पार्दै सेवाग्राही, शुभचिन्तक तथा आम नागरिकलाई भ्रममा नपर्नसमेत आग्रह गरेको छ।