सोनु साह
विराटनगर । विराटनगरमा प्रत्येक वर्ष आयोजना हुँदै आएको ऐतिहासिक श्रीराधाकृष्ण रथयात्रामा यसपटक डिजे पूर्ण रूपमा प्रतिबन्ध लगाइने भएको छ। श्रीराधाकृष्ण मन्दिर समितिका अध्यक्ष कैलाश रेग्मीका अनुसार रथयात्राको धार्मिक आस्था र परम्परालाई प्राथमिकता दिँदै डिजे प्रतिबन्ध गर्ने निर्णय गरिएको हो। रथयात्रामा डिजे तथा आधुनिक गीतसंगीतको सट्टा भजन–कीर्तन र धार्मिक मन्त्रलाई प्राथमिकता दिइने उनले बताए।
रेग्मीले भने, “हामी यसपटक पूर्ण रूपमा डिजे प्रतिबन्ध गर्दैछौँ। हाम्रो आस्थासँग जोडिएको भजन–कीर्तनलाई प्राथमिकतामा राखेर मुखले भजन गाउँदै विराटनगर परिक्रमा गर्नेछौँ।” विगतका रथयात्रामा डिजे तथा विभिन्न किसिमका गीत बजाउने सवारीसाधनका कारण भीड अनियन्त्रित हुने, झगडालगायतका गतिविधि बढ्ने र रथयात्राको धार्मिक स्वरूपमा असर पर्ने गरेको समितिको भनाइ छ। यस्ता गतिविधिलाई नियन्त्रण गर्दै रथयात्रालाई धार्मिक तथा मर्यादित बनाउन डिजे प्रतिबन्ध गर्ने निर्णय गरिएको अध्यक्ष रेग्मीले बताए।
उनका अनुसार यस वर्ष रथमा दुईवटा हर्नको व्यवस्था गरिनेछ। ती हर्नमार्फत ‘राधे–कृष्ण’लगायतका धार्मिक मन्त्र तथा भजन बजाइनेछ। बाहिरबाट आउने डिजे गाडीलाई समेत रथयात्रामा सहभागी हुन अनुमति नदिइने समितिले जनाएको छ। डिजे बोकेको सवारीसाधन रथयात्रामा सहभागी भएको पाइएमा कारबाही गरिने अध्यक्ष रेग्मीले स्पष्ट पारे।
विराटनगरको ऐतिहासिक श्रीराधाकृष्ण रथयात्रा यस वर्ष भदौ २० गते शनिबार दिउँसो ३ः३० बजे राधाकृष्ण मन्दिरबाट सुरु हुनेछ। रथयात्रा विराटनगरका विभिन्न क्षेत्रको परिक्रमा गर्दै पुनः मन्दिर परिसरमा पुगेर समापन हुनेछ।