विराटनगर । विराटनगर २ मा रहेको बुढानीलकण्ठ स्कुलले श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर विविध सास्कृतिक कार्यक्रम आयोजना गरिएको छ । विद्यार्थीलाई आफ्नो धर्म, संस्कृति र मौलिक परम्पराबारे अवगत गराउने उद्देश्यले विद्यालयले हरेक बर्ष कृष्णा जन्माअष्टमीलाई भव्य रुपमा मनाउने गरेको छ ।


समारोहमा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरूले भगवान् कृष्ण र राधाको भेषभूषामा सजिएर विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । विद्यार्थीहरूले कृष्णको जीवनीमा आधारित नाटिका तथा आकर्षक नृत्य तथा लाखे नाच प्रदर्शन गर्दा विद्यालय परिसर दिनभर उत्सवमय बनेको थियो ।
विद्यालयका प्रिन्सिपल मणिराज भट्टराईले बालबालिकालाई किताबी ज्ञानसँगै व्यावहारिक र सांस्कृतिक ज्ञान दिनु अपरिहार्य रहेको बताए । ‘हाम्रो मौलिक संस्कृति र परम्परालाई नयाँ पुस्तामा हस्तान्तरण गर्न र उनीहरूलाई संस्कारयुक्त शिक्षा दिन हरेक वर्ष हामीले यो पर्व मनाउँदै आएका छौँ,’ भट्टराईले भने, ‘यस्ता कार्यक्रमले विद्यार्थीलाई नेपाली पहिचान र परम्पराबारे जानकारी दिनुका साथै त्यसको संरक्षणमा समेत योगदान पुर्याउने विश्वास लिएका छौँ ।’ करिब १ हजार ६ सय विद्यार्थी अध्ययनरत यस विद्यालयले शैक्षिक गुणस्तरसँगै विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि अतिरिक्त क्रियाकलाप र सांस्कृतिक कार्यक्रमहरूलाई प्राथमिकता दिँदै आएको छ ।

