विराटनगर । विराटनगर बास्केटबल एकेडेमी (बीबीए) को आयोजनामा विराटनगरमा सञ्चालन भइरहेको प्रतिष्ठित ‘सातौँ बीबीए कप अन्तरविद्यालय होम एण्ड अवे बास्केटबल लिग’ को लिग चरणका सम्पूर्ण खेलहरू सफलतापूर्वक सम्पन्न भएका छन् । लिग चरणको समाप्तिसँगै छात्र तथा छात्रा दुवै विधातर्फ सेमिफाइनलमा प्रवेश गर्ने शीर्ष टोलीहरूको टुङ्गो लागेको छ। अन्तर्राष्ट्रिय बास्केटबल महासङ्घ (FIBA) को आधिकारिक नियम अनुसार सञ्चालित यस लिगमा सहभागी विद्यालयहरूले उत्कृष्ट खेल कौशल प्रदर्शन गर्दै सेमिफाइनलको यात्रा तय गरेका छन्।
छात्रातर्फको समूह 'ए' बाट अरनिको स्कुलले ६ खेलमा ५ जित र १ हार बेहोर्दै १० अङ्कका साथ समूह विजेता बन्न सफल भएको छ। यस्तै, एभरेस्ट स्कुलले ६ खेलमा ४ जित र २ हारसहित १० अङ्क नै बटुल्दै उपविजेताको रूपमा सेमिफाइनलमा प्रवेश गरेको छ । यस समूहमा एरागन स्कुल ८ अङ्कका साथ तेस्रो र शिक्षादीप स्कुल ५ अङ्कका साथ चौथो स्थानमा रहे। छात्रातर्फकै समूह 'बी' मा डिफेन्डिङ च्याम्पियन बीकेभीएम (BKVM) ले ४ खेलमा शतप्रतिशत जित (४ जित) निकाल्दै ८ अङ्कका साथ समूह विजेता बनेको छ । त्यस्तै, सेन्ट जोसेफ स्कुलले ४ खेलमा २ जित र २ हार बेहोर्दै ६ अङ्कका साथ उपविजेता बन्दै अन्तिम चारमा स्थान पक्का गरेको छ भने सगरमाथा स्कुल ४ अङ्कका साथ तेस्रो स्थानमा रह्यो। छात्रतर्फको समूह 'ए' मा अत्यन्तै कडा टक्कर देखियो, जहाँ बीकेभीएम (BKVM) र सगरमाथा स्कुलले ६ खेलमा समान ५ जित र १ हार बेहोर्दै ११–११ अङ्क जोडेका छन् । यी दुवै टोलीको स्कोर अन्तरसमेत समान रहेको छ, जसमा बीकेभीएम पहिलो र सगरमाथा दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गरे। यस समूहमा कोबास र डीपीएस समान ७ अङ्कका साथ क्रमशः तेस्रो र चौथो स्थानमा रहे। छात्रतर्फकै समूह 'बी' बाट अरनिको स्कुल ६ खेलमा ५ जित र १ हार बेहोर्दै ११ अङ्कका साथ शीर्ष स्थानमा रहन सफल भएको छ । यस्तै, सेन्ट जोसेफ्स स्कुल ६ खेलमा ३ जित र ३ हारसहित ९ अङ्क जोड्दै उपविजेताको रूपमा सेमिफाइनल पुगेको छ भने शिक्षादीप र एभरेस्ट स्कुल समान ८ अङ्कका साथ क्रमशः तेस्रो र चौथो स्थानमा रहे ।
आयोजक बीबीएका अनुसार सेमिफाइनलका खेलहरू पनि ‘होम एण्ड अवे’ ढाँचामा भदौ २१ गतेदेखि भदौ २६ गतेसम्म सञ्चालन हुनेछन् । पहिलो दिन अर्थात् भदौ २१ गते आइतबार बिहान ७:०० बजे छात्रतर्फ अरनिको स्कुल र सगरमाथा स्कुलबीच सगरमाथा स्कुलको कोर्टमा प्रतिस्पर्धा हुनेछ। सोही दिन अपराह्न ४:०० बजे छात्रातर्फ अरनिको स्कुल र सेन्ट जोसेफ्स स्कुलबीच सगरमाथा स्कुलकै कोर्टमा प्रतिस्पर्धा हुनेछ। दोस्रो दिन अर्थात् भदौ २२ गते सोमबार बिहान ७:०० बजे छात्रतर्फ बीकेभीएम र सेन्ट जोसेफ्स स्कुल बीकेभीएम स्कुल कोर्टमा आमनेसामने हुनेछन् भने सोही दिन अपराह्न ४:०० बजे छात्रातर्फ बीकेभीएम र एभरेस्ट स्कुलबीच बीकेभीएम स्कुलकै कोर्टमा खेल सञ्चालन हुनेछ ।
सेमिफाइनलको तेस्रो दिन अर्थात् भदौ २३ गते मङ्गलबार बिहान ७:०० बजे छात्रतर्फ सगरमाथा र अरनिको स्कुलबीच सगरमाथा स्कुलको कोर्टमा पुनः खेल हुनेछ। सोही दिन अपराह्न ४:०० बजे छात्रतर्फ सेन्ट जोसेफ्स र बीकेभीएम स्कुलबीच सेन्ट जोसेफ्स स्कुलको कोर्टमा दोस्रो लेगको खेल हुनेछ । चौथो दिन अर्थात् भदौ २४ गते बुधबार बिहान ७:०० बजे अन्तर्गत छात्रातर्फ सेन्ट जोसेफ्स र अरनिको स्कुलबीच सेन्ट जोसेफ्स स्कुलको कोर्टमा खेल हुनेछ भने सोही दिन अपराह्न ४:०० बजे छात्रातर्फ एभरेस्ट र बीकेभीएम स्कुलबीच एभरेस्ट कलेजको कोर्टमा अन्तिम सेमिफाइनल खेल हुने आयोजकले जनाएको छ।
यस पटकको लिगमा उत्कृष्ट लयमा रहेका टोलीहरू सेमिफाइनल पुगेकाले आगामी खेलहरू निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक हुने अनुमान गरिएको छ। डिफेन्डिङ च्याम्पियन बीकेभीएमले छात्र र छात्रा दुवै विधामा आफ्नो साख जोगाउन कडा मिहिनेत गर्नुपर्ने देखिन्छ भने अरनिको, सगरमाथा, एभरेस्ट र सेन्ट जोसेफ्स जस्ता बलिया टोलीहरू नयाँ इतिहास रच्ने तयारीमा छन्।