जनताको समस्या, जनताकै आवाज र जनताकै सडकबाट

<span class='c1'>जनताको समस्या, जनताकै आवाज</span> <span class='c2'>र जनताकै सडकबाट</span>

विराटनगर । जनताकै सडकबाट देखाउने क्रममा आज हामी पुगेका छौँ, विराटनगर महानगरपालिका–१ स्थित भट्टा चौक पूर्व, समता स्कुलको खाली चउरी उत्तरतर्फ जाने सडकमा । दैनिक घर, कार्यालय, विद्यालय तथा अस्पताल आउजाउ गर्ने स्थानीयको मुख्य बाटो अहिले हिलाम्मे बनेको छ । सडकको अवस्था दयनीय भएपछि स्थानीयवासी आक्रोशित बनेका छन् । नालाभन्दा सडकको सतह तल रहेकाले सामान्य वर्षा हुँदा पनि सडकमा पानी जम्ने गरेको स्थानीयको भनाइ छ । सडक गहिरो भएकै कारण पानी निकास हुन नसक्दा बाटो हिलाम्मे बन्ने र पैदलयात्री तथा सवारीसाधनलाई आवतजावतमा समस्या हुने गरेको छ। स्थानीयवासी मनिस खड्काका अनुसार सडकको अवस्थाबारे सम्बन्धित वडा कार्यालयका जनप्रतिनिधिलाई पटक–पटक जानकारी गराइसकेका छन् । प्रत्यक्ष भेटेर होस् वा फोनमार्फत, समस्या सुनाउँदा पनि समाधानका लागि अपेक्षित चासो नदिएको उनीहरूको गुनासो छ ।

सडकको अवस्था खराब हुँदा बिरामी तथा ज्येष्ठ नागरिकलाई झनै समस्या हुने गरेको अर्को एक स्थानीयवासी विपिन पौडेल बताउँछन् । कतिपय बिरामीलाई नियमित रूपमा अस्पताल लैजानुपर्ने भए पनि सडकको अवस्थाका कारण एम्बुलेन्स तथा सिटी रिक्सा सहजै आउन नमान्ने उनीहरूको गुनासो छ ।
दिउँसोको समयमा जसोतसो आवतजावत गर्न सकिए पनि रातको समयमा भने समस्या अझ बढ्ने गरेको स्थानीयको भनाइ छ । सडकमा पानी जमेर हिलाम्मे हुने तथा उचित प्रकाशको अभाव हुँदा दुर्घटनाको जोखिमसमेत हुने उनीहरू बताउँछन्।

स्थानीयवासीले लामो समयदेखि भोग्दै आएको यो समस्याको तत्काल समाधान हुनुपर्ने माग गरेका छन्। । सडकको उचाइ मिलाउने, पानी निकासको उचित व्यवस्था गर्ने तथा सडक स्तरोन्नति गर्नुपर्ने उनीहरूको माग छ। यस विषयमा हामीले विराटनगर महानगरपालिका–१ का वडा अध्यक्ष काजी बस्नेतसँग प्रतिक्रिया लिन खोज्दा आज कार्यालय बिदा भएकाले भोलि कार्यालय खुलेपछि आएर कुरा गर्न आग्रह गर्नुभयो।

जनताको समस्या बुझ्न र समाधानका लागि जनताले नै रोजेर पठाएका जनप्रतिनिधिले स्थानीयको गुनासोलाई प्राथमिकताका साथ सम्बोधन गर्नुपर्ने हुन्छ ।
तर, पटक–पटक जानकारी गराउँदा पनि समस्या समाधान नभएपछि स्थानीयवासीले प्रश्न गरेका छन—‘जनताको समस्या समाधान गर्न निर्वाचित जनप्रतिनिधि नै जनताको समस्या सुन्न र बुझ्न तयार हुँदैनन् भने जनप्रतिनिधि हुनुको अर्थ के?’ यो सडक र यहाँका स्थानीयले भोग्दै आएको समस्याबारे हामी पुनः फलोअप गर्नेछौँ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्