विराटनगर । विराटनगरमा सम्पन्न ५९औँ ऐतिहासिक राधाकृष्ण रथयात्रामा संकलित भेटी बाढीपीडितको राहतका लागि हस्तान्तरण गरिएको छ। रथयात्राका क्रममा संकलित २ लाख ८२ हजार ४ सय १८ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो।
राधाकृष्ण मन्दिर कार्यसमिति तथा रथयात्रा आयोजक समितिले बिहीबार जिल्ला प्रशासन कार्यालय मोरङमार्फत उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ।
रथयात्रामा भक्तजन तथा श्रद्धालुबाट संकलित भेटीलाई सामाजिक उत्तरदायित्वअन्तर्गत विपद् प्रभावित नागरिकको राहत तथा उद्धारमा उपयोग गर्ने निर्णयअनुसार कोषमा रकम जम्मा गरिएको हो।
समितिले धार्मिक आस्था र परम्परासँग जोडिएको रथयात्राबाट संकलित रकम विपद्मा परेका नागरिकको सहयोगमा प्रयोग गर्ने उद्देश्यले राहत कोषमा हस्तान्तरण गरेको जनाएको छ।