विराटनगर । बाढी तथा अन्य विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि विराटनगरस्थित विराट क्याम्पस (सोम्स) ले ७१ हजार ५५५ रुपैयाँ सहयोग गरेको छ। क्याम्पसले बिहीबार उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको हो। भोटेकोशी नदीमा आएको बाढी तथा रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा विपद्बाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले सामाजिक उत्तरदायित्वअन्तर्गत क्याम्पस परिवारले रकम संकलन गरेको प्रिन्सिपल रोशन घिमिरेले जानकारी दिए।
उनका अनुसार विद्यार्थी, शिक्षक–कर्मचारी तथा क्याम्पसका निर्देशकहरूबाट संकलित रकम उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) मोरङमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो।
रकम हस्तान्तरण कार्यक्रममा हिसानका केन्द्रीय सचिव राजेश कार्की, केन्द्रीय सह–कोषाध्यक्ष शंकर भट्टराई, हिसान मोरङका अध्यक्ष अमित ढकाल, विराट क्याम्पसका निर्देशकहरू तथा विद्यार्थीहरूको उपस्थिति रहेको थियो।