विराटनगर । विराटनगर महानगरपालिका–३ स्थित पोखरीया स्कुल नजिकै शनिबार बिहान मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
कञ्चनबारीबाट भट्टा चोकतर्फ जाँदै गरेको को ५ प २१७० नम्बरको मोटरसाइकल शनिबार बिहान करिब १ः५५ बजे अनियन्त्रित भई विद्युत्को पोलमा ठोक्किएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
दुर्घटनामा विराटनगर महानगरपालिका–९, बसपार्कका ४५ वर्षीय रविकुमार कामत गम्भीर घाइते भएका थिए। उनको उपचारका क्रममा बिहान करिब २ः३० बजे कोशी अस्पतालमा मृत्यु भएको मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेले जानकारी दिए।
दुर्घटनाको कारण भने खुल्न सकेको छैन। प्रहरीले मोटरसाइकल नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ।