विराटनगर । मोरङ ग्रामथानको श्री रामजानकी मन्दिर पुर्ननिमार्ण तथा धार्मिक पर्यटनको लागि सप्ताहव्यापी श्रीमद्भागवत महापुराण आयोजना गरिने भएको छ।
मन्दिर संरक्षण, सम्बद्र्धन, विकास तथा व्यवस्थापनका साथै मन्दिर पुर्ननिमार्ण योगदान पुर्याउने उद्देश्यले महापुराण आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।
भागवत मञ्जरी राधिका दासजीको प्रमुख वाचन रहने महापुराण असोज १ गतेदेखि ७ गतेसम्म सञ्चालन हुनेछ। कार्यक्रममा दैनिक पूजा–आरती, भागवत पाठ तथा पारायण, माताजीको मुखारविन्दबाट कथा प्रवचन, देवीलिला र कलाकारबाट सामाजिक झाँकीलगायत कार्यक्रम राखिएका छन्।
असोज १ गते बिहान ९ बजेदेखि कलश यात्रा तथा दिउँसो १ बजे उद्घाटन समारोह हुने आयोजकले जनाएको छ। असोज ६ गते साँझ ५ः३० बजे लक्ष्यवर्तीका प्रज्वलन र असोज ७ गते बिहान ११ बजे तिलार्पण तथा पूर्णाहुति गरिनेछ।
धर्म, संस्कार र सामाजिक चेतनामार्फत युवालाई लागुऔषधबाट टाढा राख्न कार्यक्रम प्रभावकारी हुने आयोजकको विश्वास छ। महापुराणमा स्थानीय बासिन्दा, भक्तजन तथा युवाको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ।
