विराटनगर । जिल्ला भलिबल संघ मोरङको ९औँ वार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ। साधारण सभाले नयाँ कार्यसमितिसमेत गठन गरेको छ।
भदौ ३० गते सम्पन्न कार्यक्रममा खेलकुद विकास समिति मोरङका अध्यक्ष इन्द्र योञ्जन तामाङ प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा खेलकुद क्षेत्रसँग सम्बन्धित विभिन्न व्यक्तित्व तथा भलिबलप्रेमीहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा नेपालमा राष्ट्रिय खेलका रूपमा रहेको भलिबललाई थप व्यवस्थित र प्रभावकारी रूपमा विकास गर्नुपर्नेमा जोड दिइएको थियो। विद्यालय तहदेखि नै खेलाडी पहिचान, प्रशिक्षण तथा आवश्यक पूर्वाधार विकासमा ध्यान दिनुपर्ने सहभागीहरूले बताएका थिए।
खेलाडीको क्षमता पहिचान गरी उचित अवसर र प्रोत्साहन प्रदान गर्न सके नेपाली भलिबलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा थप सफलता हासिल गर्न सक्ने उनीहरूको भनाइ थियो। साथै, भलिबलको विकासका लागि सम्बन्धित निकायबीच सहकार्य र समन्वय आवश्यक रहेकोमा समेत जोड दिइएको थियो।