विराटनगर । सास्थम कलेज विराटनगरले बीबीए (ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन) र बीएचएम (ब्याचलर अफ होटल म्यानेजमेन्ट) अध्ययनका लागि भर्ना भएका नयाँ विद्यार्थीलाई शुक्रबार स्वागत तथा अभिमुखीकरण गरेको छ।
विराटनगरस्थित रत्ना होटलमा आयोजित कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. सुजनबाबु मरहट्टा प्रमुख अतिथिका रूपमा सहभागी थिए। उनले उच्च शिक्षालाई पाठ्यक्रम र परीक्षामा मात्र सीमित नराखी व्यवहारिक ज्ञान, सीप तथा दक्षता विकासमा जोड दिन विद्यार्थीलाई आग्रह गरे।
कार्यक्रममा बीबीएतर्फ ९६ र बीएचएमतर्फ १४४ गरी कुल २४० नयाँ विद्यार्थीलाई स्वागत गरिएको थियो। कार्यक्रममा विद्यार्थीलाई अध्ययनसँगै व्यावसायिक तथा व्यवहारिक ज्ञान हासिल गर्न प्रेरित गरिएको थियो।
कलेजका क्याम्पस प्रमुख विनय विष्णु केसीले विद्यार्थीको शैक्षिक तथा व्यक्तिगत विकासका लागि कलेजले आवश्यक वातावरण निर्माण गर्दै आएको बताए। उनले नियमित अध्ययनसँगै अतिरिक्त क्रियाकलाप र व्यवहारिक सिकाइमा सक्रिय हुन आग्रह गरे।
बीएचएम कार्यक्रम निर्देशक शैलेन्द्र गणेशले नयाँ विद्यार्थीलाई स्वागत गर्दै शैक्षिक यात्रामा कलेज परिवारबाट आवश्यक सहयोग र सहजीकरण हुने बताए। कार्यक्रममा क्याम्पस व्यवस्थापक महेश्वर प्रसाद सिंहलगायतको उपस्थिति थियो।