विराटनगर । संविधान दिवसको अवसरमा दिल्ली पब्लिक स्कुल (डीपीएस) विराटनगरमा राष्ट्रिय एकता, देशप्रेम र संविधानको महत्व झल्काउने कार्यक्रम तथा परेड आयोजना गरिएको छ। विद्यालयका प्रधानाचार्य टी. एन. भण्डारी र प्रिस्कुल जोन हेड अर्चना दुगरको उपस्थितिमा आयोजित कार्यक्रममा बालबालिकाले सहभागिता जनाएका थिए। राष्ट्रिय गानबाट सुरु भएको कार्यक्रममा बालबालिकाले राष्ट्रिय झण्डासहित परेड गर्नुका साथै नेपाली मौलिक पोसाकमा सहभागिता जनाएका थिए।
कार्यक्रममा दीप तथा मैनबत्ती प्रज्वलन गर्दै शान्ति, एकता र भविष्यको संकल्प गरिएको थियो। बालबालिकालाई उमेरअनुसार संविधानको अर्थ, समानता, आपसी सम्मान, अनुशासन र जिम्मेवार नागरिकको भूमिकाबारे जानकारी गराइएको थियो। देशभक्तिपूर्ण गीत ‘रातो र चन्द्र सूर्य’ प्रस्तुतिले कार्यक्रम उत्साहपूर्ण बनेको थियो। सानै उमेरदेखि बालबालिकामा राष्ट्रियता, सामाजिक उत्तरदायित्व र देशप्रतिको जिम्मेवारीको भावना विकास गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ। अन्त्यमा फोटो सेसन गरिएको थियो।