विराटनगर । नेपाली कांग्रेस विराटनगर महानगर समितिको सभापति पदका लागि केशव गिरी र कृष्ण बहादुर कार्कीले मनोनयन दर्ता गराएका छन् । मंगलबार हुने निर्वाचनका लागि आज आइतबार मनोनयन दर्ता गरिएको हो । निर्वाचन समितिका अनुसार सभापति पदमा गिरीको प्रस्तावकमा पर्शुराम कटुवाल र समर्थकमा शम्भु चौधरी रहेका छन् । यसैगरी कार्कीको प्रस्तावकमा भोजराज निरौला र समर्थकमा पंकज घिमिरे रहेका छन् ।
गिरी विद्यार्थीकालदेखि स्वच्छ छवी भएका युवा मानिन्छन् । उनी आफ्नो पेसा व्यवसाय समेत अंगाल्दै आएका युवा हुन् । सामाजिक छवी राम्रो भएका गिरीले एकाएक सभापतिको उम्मेदवार दिएका छन् । यसैगरी नगरसभापतिका अर्का प्रत्यासी कार्की समेत विराटनगरका विभिन्न गतिविधिमा सक्रिय रहँदै आएका व्यक्ति हुन् । उनी प्रशासनिक क्षेत्रका व्यक्तिहरुसँग बढी घुलमिल रहेका छन् ।
त्यसैगरी, उप–सभापति पदका लागि तीन जनाको उम्मेदवारी दर्ता भएको छ । उप–सभापतिमा शुभाषिस कोइराला तथा महिलातर्फ श्रुती शर्मा र कृष्णा कुमारी साहले मनोनयन दर्ता गराएका छन् । शर्माको प्रस्तावकमा गौरव भट्टराई र समर्थकमा अभिषेक भट्टराई रहेका छन् । विराटनगर महानगरपालिकाको नयाँ कार्यसमिति चयनका लागि पर्सि बिहान ८ बजेदेखि मतदान सुरु गर्ने गरी कार्यतालिका तय गरिएको छ । भोलिसम्ममा क्षेत्रको अधिवेशन सम्पन्न गरी नगरको निर्वाचन प्रक्रिया अघि बढाइनेछ ।