विराटनगर । कोशी प्रदेश सरकारले संघीयता कार्यान्वयनका क्रममा प्रदेशहरूले भोग्दै आएका साझा समस्या र समाधानका उपायबारे छलफल गर्न अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन आयोजना गर्ने भएको छ ।
सोमबार बसेको प्रदेश मन्त्रिपरिषद्को २०औँ बैठकले आगामी असोज २२ र २३ गते विराटनगरमा सातै प्रदेशका मुख्यमन्त्री सहभागी हुने गरी सम्मेलन आयोजना गर्ने निर्णय गरेको हो ।
प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाले कोशी प्रदेश सरकारको आयोजनामा ‘अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन, २०८३’ आयोजना गर्ने निर्णय भएको जानकारी दिए ।
सम्मेलनमा प्रदेशहरूले संघीयता कार्यान्वयनका क्रममा भोगिरहेका साझा समस्या, संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय तथा प्रदेशबीच सहकार्यका विषयमा छलफल हुने उनले बताए । प्रदेशका कानुनी तथा संस्थागत जटिलता, संघीयता सबलीकरणका लागि आवश्यक सुधार र प्रदेशहरूले अपनाएका असल अभ्यास आदानप्रदानका विषयसमेत सम्मेलनमा उठाइनेछ ।
कोशी सरकारले सम्मेलनलाई प्रदेशहरूबीच अनुभव आदानप्रदानसँगै साझा समस्या समाधानका लागि साझा धारणा बनाउने मञ्चका रूपमा अघि बढाउने जनाएको छ । विकास, आर्थिक समृद्धि, सुशासन, पर्यटन तथा व्यापार प्रवर्धनमा प्रदेशहरूबीच सहकार्यका सम्भावनाबारे पनि छलफल हुने जनाइएको छ ।
यसैगरी, मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव आसमान तामाङलाई उद्योग, कृषि तथा सहकारी मन्त्रालयको समेत सचिवको जिम्मेवारी दिने निर्णय गरेको छ ।
सहसचिव नीता शर्मालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिवमा पदस्थापन गरी प्रदेश योजना आयोगको समेत कामकाज गर्ने गरी खटाउने निर्णय बैठकले गरेको छ ।
आर्थिक मामिला तथा योजना मन्त्रालयको प्रस्तावमा कोशी प्रदेशमा बीमा सम्बन्धी कानुनी व्यवस्था निर्माणका लागि विधेयक तर्जुमा गर्न सिद्धान्त स्वीकृत गर्ने निर्णयसमेत मन्त्रिपरिषद्ले गरेको छ ।