विराटनगर । चाडपर्व नजिकीएसँगै विराटनगरमा रातभरको जुवातास सुरु भएको छ । जुवाका अड्डा र तासका खाल सञ्चालन हुने स्थानमा प्रहरी निगरानी बढाएको छ । सोमबार राती विराटनगर–६ मा भने प्रहरी पुगेपछि दुईतलाको घरबाट हामफाल्दा दुईजना गम्भीर घाइते भएका छन् ।
कानुन विपरित भएपनि तास खेलेर रमाइलो गरिरहेकालाई प्रहरीले नियन्त्रणमा लिएर जुवा ऐन अन्तर्गतको कसूरमा मुद्दा चलाउँथ्यो । तर, रमाइलो गरिरहेकाहरु प्रहरी पुगेपछि अत्तालिएर हामफाल्दा भने एकजनाको खुट्टा भाँचिएको छ भने अर्कोजना अचेत भएको प्रहरीले बताएको छ । विराटनगर–६ सरोचियास्थित लालु पासवानको घरमा तास खाल सञ्चालनमा रहेको भनेपछि राती ११ः३० प्रहरी पुगेको थियो । त्यहाँ पुगेपछि उनीहरु हाम फालेका थिए । डराएर भाग्ने क्रममा हाफ फाले, जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मकेन्द्र मिश्रले भने–एकजनाको हातमा चोट थियो, अर्काको खुट्टा फ्याक्चर ।
हातमा सामान्य चोट लागेका विराटनगर महानगरपालिका–१४ का ५५ वर्षीय बलराम कोइराला हिरासतमा ल्याएर राखिएको थियो । तर, बिहान उनी अचेत भेटिएका थिए । प्रहरीले आठ जनालाई त्यहाँबाट नियन्त्रणमा लिइएको थियो । जसमध्ये विराटनगर–८ का ४१ वर्षीय चन्दन मुखियाको दाहिने खुट्टा भाँचिएको अवस्थामा भेटिएको हो ।
खुट्टा फ्याक्चर भएका मुखियाको श्री अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । यता जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा रहेका कोइरालालाई मंगलबार बिहान चिया खान अन्य साथीहरुले बोलाउँदा बोल्न नसक्ने देखिएपछि कोशी अस्पतालमा उपचारका लागि पठाइएको डिएसपी मिश्रले बताए ।
कोशी अस्पतालले तत्काल नोबेल अस्पतालमा रिफर गरेपछि उनको त्यहाँ उपचार भइरहेको बताइएको छ । प्रहरीले घटनाका बारेमा कोइरालाको परिवारका सदस्य र आफन्तलाई जानकारी दिएको छ । डीएसपी मिश्रले तास खेलिरहेको अवस्थामा रहेका उनीहरु जर्बरजस्ती भागदौड गर्ने कामबाट घाइते भएको बताएका छन् ।
प्रहरी घाईते भएका कोइराला र मुखियासँगै मोरङको धनपालथान गाउँपालिका–६ का ३३ वर्षीय साजन राजवंशी, विराटनगर–४ का ५२ वर्षीय सत्यनारायण राजवंशी, ४८ वर्षीय तोरण यादव, विराटनगर–६ का २६ वर्षीय राजेश कामत, ५३ वर्षीय गंगाराम मण्डल र ४३ वर्षीय विष्णु कामत पक्राउ परेका थिए । पक्राउ परेकामाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ । उनीहरुले खेलिरहेको खालबाट तास तथा नगद ४८ हजार ३९५ बरामद गरिएको छ ।