विराटनगर। कोशी प्रदेशको राजधानी विराटनगरमा राष्ट्रिय स्तरकै खेल महोत्सवका रूपमा ‘विराट क्रिकेट लिग २०८३ (कर्पोरेट संस्करण)’ आयोजना हुने भएको छ। विक्रम संवत् म्यानेजमेन्ट र नेपाल क्रिकेट फाउन्डेसनको संयुक्त आयोजनामा आगामी मंसिर २६ र २७ गते यो प्रतियोगिता सञ्चालन हुन लागेको हो।
विराटनगर–६ स्थित म्यारीबोन ज्वाला क्रिकेट मैदानमा हुने यस दुई दिने राष्ट्रिय प्रतियोगितामा देशभरिका विभिन्न व्यावसायिक घराना तथा कर्पोरेट क्षेत्रका प्रतिष्ठित ८ टोलीहरूले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगितालाई छिटो, रोमाञ्चक र प्रतिस्पर्धात्मक बनाउन विशेष ढाँचा तय गरिएको छ। लिग चरणका खेलहरू 'सुपर ६' (प्रति खेल ६ ओभर) को ढाँचामा सञ्चालन हुनेछन् भने सेमिफाइनल तथा फाइनल खेलहरू प्रति खेल १० ओभरका हुनेछन्।
यो प्रतियोगिता केवल क्रिकेटमा मात्र सीमित नभई देशैभरका व्यावसायिक नेतृत्व, उद्यमी तथा कर्पोरेट व्यक्तित्वहरूबीचको आपसी सम्बन्ध विस्तार (कर्पोरेट नेटवर्किङ) को साझा मञ्च बन्ने आयोजक संस्थाका विवेक दाहालले बताए।
प्रतियोगिता अवधिभर मैदान परिसरलाई एउटा उत्सवका रूपमा सजाउने तयारी गरिएको छ। खेलसँगै दर्शक, खेलाडी तथा पाहुनाहरूका लागि विविध कार्यक्रम, आकर्षक सांगीतिक प्रस्तुति तथा स्वादिष्ट स्थानीय र राष्ट्रिय परिकारका फुड स्टलहरू रहनेछन्। यस प्रतियोगिताले कोशी प्रदेशको पर्यटनमा समेत थप फाइदा पुग्ने अपेक्षा गरिएको छ । देशभरका कर्पोरेट जगतलाई खेलकुदको माध्यमबाट एउटै थलोमा जोड्ने यस महाकुम्भमा सहभागिताका लागि टिम दर्ता प्रक्रिया चाँडै खुला गरिने आयोजकले जानकारी दिएको छ।